| आइतवार, जेष्ठ ६, २०८१

किमोलुङ फाउण्डेशनद्वारा सञ्चालित स्वास्थ्य शिविरमा आठसय जनाले सेवा लिए

चुमनुब्री गाउँपालिका वडा नं ३ सिर्दिबासमा संचालन भएको चारदिने किमोलुङ स्वास्थ्य शिविरमा आठसय जनाले सेवा लिएका छन् । सोमबार सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा पालिकाभित्रका आठसय जनाले सेवा लिएका आयोजक संस्थाले जनाएको छ ।


किमोलुङ फाउण्डेशन नेपालको आयोजनामा गत शुक्रबारदेखि शिविर संचालन भएको थियो । शिविर चुमनुब्री ३ फिलिमको सिर्दिबास स्वास्थ्य चौकीमा संचालन भएको सो संस्थाका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले जानकारी दिए ।

निशुल्क शिविरमा सामान्य स्वास्थ्य परीक्षण, दाँत चेकजाँच, स्त्री रोगको उपचार, छाला सम्बन्धी रोगको उपचार, अकुपंचर, इसिजी सेवा, अल्ट्रासाउन्ड, ल्याव सेवा, आँखाको सामान्य चेकजाँच भएको थियो । साथै शिविरमा चस्मा वितरण लगायत निशुल्क चेकजाँच, उपचार र औषधी वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

सोमबार सम्पन्न शिविरमा स्त्री तथा प्रशुतीसम्बन्धी समस्या भएका बिरामीको संख्या धेरै पाइएको फाउण्डेशनले जनाएको छ । फाउन्डेसनले गोरखाको दुर्गममा रहेको चुमनुब्री गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरेर शिविर संचालन गरेको हो । शिविरमा स्वदेशी र विदेशी गरी १७ जना चिकित्सकहरुको टोलीले सेवा दिएका थिए ।

शिविरकै अवसर पारेर फाउण्डेशनले विभिन्न स्वस्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुको समेत आयोजना गरेको थियो । शिविरमा आएका विशेषज्ञको टोलीले चुमनुब्री गाउँपालिकाको ७ वटै वडाका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित प्रसुती सम्बन्धी तीनदिने तालिम समेत दिएका थिए । तालिममै प्रसुति गराउन प्रयोग हुने उपकरणहरु समेत वितरण गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष लामाले बताए । संस्थाले दिएको उपकरणको प्रयोगले गाउँमै सुरक्षित सुत्केरी गराउन सहयोग पुग्ने फाउण्डेशनको विश्वास छ ।

साथै, फाउण्डेशनले फिलिमका महिला समुहलाई लक्षित गरी स्त्री स्वास्थ्य तथा प्रजनन् सम्बन्धी सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरेको थियो । फाउण्डेशनले सोमबार चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित बुद्ध माविका विद्यार्थीहरुलाई दन्तस्वास्थ्य सुदृढ गर्न ब्रस मन्जन वितरण गरेर शिविर समापन गरिएको फाउन्डेसनले जनाएको छ । किमोलुङ फाउन्डेसन नेपाल, चुमनुब्री गाउँपालिका, एलिभेट नेपाल र हिरो नामक संस्थाको संयुक्त आयोजनामा शिविर संचालन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्