| शनिबार, बैशाख २२, २०८१

गोरखामा आठ महिनाको अवधिमा १ सय ३० जनामा क्षयरोग संक्रमण

आठ महिनाको अवधिमा गोरखामा १ सय ३० जनामा क्षयरोग संक्रमण देखिएको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म उक्त संख्यामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा ३८ जनामा संक्रमण देखिएको छ ।

पालुङटारमा १६, आरुघाटमा १५, धार्चेमा ११, बारपाक सुलिकोटमा १० र सिरानचोकमा ९ जनामा संक्रमण देखिएको कार्यालयका क्षयरोग फोकल पर्सन नारायणबाबु अर्यालले बताए । त्यस्तै शहिदलखन गाउँपालिकामा ८, गण्डकीमा ७, अजिरकोटमा ६, भिमसेन थापा र चुमनुव्रीमा ५/५ जनामा संक्रमण देखिएको उनले जानकारी दिए । ‘यो बर्ष ५ सय ३७ जना क्षयरोग संक्रमित पत्ता लगाउने लक्ष्य हो,’ अर्यालले भने, ‘तर हालसम्म २४ प्रतिशत अर्थात १ सय ३० जनामा पत्ता लागेको छ ।’

कार्यालयका अनुसार आर्थिक बर्ष २०७७/७८ मा जिल्लामा १ सय ६७ जनामा क्षयरोग संक्रमण पुष्टी भएको थियो । त्यस्तै आव २०७८/७९ मा २१६ र आव २०७९/८० मा २ सय १४ जनामा क्षयरोग संक्रमण देखिएको थियो । विश्व क्षयरोग दिवसको सन्दर्भ पारेर शनिवार स्वास्थ्य कार्यालयले पत्रकार अन्तरक्रिया गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यक्रममा सहजिकरण गर्दै गोरखा नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले क्षयरोगका लक्षण र यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए ।

उनका अनुसार दुई हप्तादेखी लगातार खोकी लाग्नु, थकान महशुस हुनु, तौल घट्नु आदि क्षयरोगका मुख्य लक्षण हुन् । गर्भवती, एचआईभी, सुगर, प्रेसर, कुपोषण लगायतका रोग भएका बिरामीलाई छिटो संक्रमण हुन सक्ने उनले जानकारी दिए । क्षयरोगका बिरामीहरुलाई जिल्ला स्थित सबै स्वास्थ्य संस्थाबाट निशुल्क औषधी वितरण हुदै आएको छ । उनीहरुलाई पोषण भत्ता समेत उपलब्ध गराइने अर्यालले जानकारी दिए । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सहजै सर्ने भएकाले सर्तकता अपनाउने उनले आग्रह समेत गरेका छन् ।

गोरखा र पालुङटारमा क्षयरोगमुक्त अभियान संचालन हुने
गोरखा र पालुङटार नगरपालिकामा क्षयरोगमुक्त अभियान संचालन हुने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले हाल जिल्लाका दुई नगरपालिकालाई अभियानमा समावेश गरेको हो । अभियान संचालनका लागी गोनपाका लागी ३५ लाख र पानपाका लागी २५ लाख रकम समेत विनियोजन भएको कार्यालयका अर्यालले जानकारी दिए ।

‘केन्द्रले पञ्चबर्षीय योजनाका रुपमा जिल्लाको दुई पालिकामा कार्यक्रम ल्याएको छ’, उनले भने, ‘सो कार्यक्रम बिस्तारै सबै पालिकाहरुमा पनि लागु हुनेछ ।’ अभियान संचालनका लागी केन्द्रले दुई नगरपालिकामा एक/एक जना संयोजक समेत राखिसकेको छ । प्रत्येक वडा, टोलहरुमा स्वास्थ्यकर्मी एवं महिला स्वयमसेविका मार्फत उनीहरुले तथ्याङ्क संकलन, क्षयरोग परिक्षण लगायतका कामहरु गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्