| मङ्लबार, बैशाख ४, २०८१

गोरखाबाट बैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो

आठ महिनामै ११ हजार विदेशिए :

आठ महिनाको अविधिमा गोरखाबाट बैदेशिक रोजगारीमा जानेको संख्या ११ हजार नाघेको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म कुल ११ हजार १ सय ३२ जना बैदेशिक रोजगारीमा गइसकेको बैदेशिक रोजगार बिभागले जनाएको छ ।
बिभागको तथ्याङ्क अनुसार बैदेशिक रोजगारीमा जानेमा ९ हजार ८ सय ६ पुरुष र १ हजार ३ सय २६ महिला रहेका छन् । यो श्रम स्वीकृत लिएर जानेको संख्या हो ।

गत आव २०७९÷८० मा जिल्लाका ११ हजार ६ सय २७ जना श्रम स्वीकृती लिएर बैदिशिक रोजगारीमा गएका थिए । अधिकांश मलेसिया, कतार, कुवेत, साउदी अरव जस्ता खाडी मुलुक जाने गरेको बिभागको तथ्याङ्कमा उल्लेख छ । सोमवार जिल्लाका पत्रकारसँग अन्तरक्रिया गर्दै सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले तथ्याङ्कबारे जानकारी गराएको हो ।

कार्यक्रममा सहजिकरण गर्दै बैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले सामी कार्यक्रम अन्तरगत जिल्लामा भएका गतिविधीहरु बारे जानकारी गराएका थिए । उनका अनुसार सामी कार्यक्रमले बैदेशिक रोजगारको क्रममा बिभिन्न समस्यामा परेकाहरुलाई सहजिकरण गर्दै आएको छ । बैदेशिक ठगी, मृत्यु, उद्धार वेपत्ता, जेल जस्ता समस्या समाधानमा सहजिकरण गर्दै आएको उनले जानकारी दिए ।

त्यस्तै वित्तिय साक्षरता, मनोसामाजिक परामर्श, सीप बिकास तालिम, कानूनी सहजिकरण जस्ता गतिविधि पनि सामी कार्यक्रम मार्फत संचालन हुदै आएको उनले जानकारी दिए । उनका अनुसार हाल जिल्लाका चार स्थानीय तह (गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलिकोट र शहिदलखन गाउँपालिका) मा कार्यक्रम लागू भएको छ । जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी स्रोत केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको कार्यक्रमका जिल्ला संयोजक चन्द्र देवकोटाले बताए ।

बिभिन्न पालिकाका ९ हजार भन्दा बढीले हालसम्म स्रोत केन्द्रबाट सेवा लिइसकेको उनले जानकारी दिए । सबैभन्दा बढी गोरखा नगरपालिकाका १ हजार ६९५ जनाले सेवा लिएका छन् । पालुङटारका १ हजार ४२४, शहिदलखनका १ हजार ९४, सिरानचोकका ८९९, बारपाक सुलिकोटका ८४५ र भिमसेन थापाका ७४९ जनाले सेवा लिएका छन् ।

त्यस्तै गण्डकीका ६७६, आरुघाटका ६४०, अजिरकोटका ५३०, धार्चेका ४५५ र चुमनुव्रीका ५७ जनाले सेवा लिएको देवकोटाले जानकारी दिए । कार्यक्रम अन्तरगत हालसम्म करिव एक सय जनालाई मनोसामाजिक परामर्श समेत दिइएको मनोपरामर्शदाता मुत्ता कुमालले बताइन् । उनका अनुसार आत्महत्या प्रयास, घरेलु हिंसा, बलात्कार र बालबालिकासँग सम्बन्धि आएका मुद्दाहरुको आधारमा मनोपरामर्श दिइने गरेको हो । चालु आवको हालसम्म यस किसिमका ९८ वटा मद्दा परेको र जसमध्ये ५० वटा समाधान भइसकेको कुमालले जानकारी दिइन् ।

त्यस्तै गोरखा नगरपालिकाको वडा नम्वर ६, ८, १२ र १३ मा वित्तिय साक्षरता कार्यक्रम पनि संचालन भइरहेको सामी कार्यक्रमले जनाएको छ । हालसम्म १ सय ५ जना लाभान्वित भइसकेको वित्तिय साक्षरता सहजकर्ता सम्झना थापाले बताइन् । वित्तिय साक्षरतामा सहभागीहरुलाई स्थानीय तहबाट सहुलियत दरमा ऋण उपलब्ध भएमा सहज हुने उनले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक देवकोटाले चालु आर्थिक बर्षको हालसम्म आप्रवासी स्रोत केन्द्रमा बैदेशिक रोजगारीसँग सम्बन्धित ५४ वटा समस्याका मुद्दा दर्ता भइसकेका छन् । जसमध्ये २४ वटाको समाधान भइसकेको छ । बिशेष गरी बैदेशिक ठगी, मृत्यु, उद्धार, वेपत्ता, जेल, परिवार उपचार खर्च अभाव जस्ता समस्या आउने गरेको बताइएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्