| बिहिबार, चैत्र ६, २०८१

गोरखा नगरभित्रका पर्यटकीय स्थलहरुको ‘बुकलेट’ तयार हुदैँ

नगर क्षेत्रभित्रका धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि गोरखा नगरपालिकाले पहल थालेको छ । पर्यटकलाई सो स्थलहरुको जानकारी दिनका लागि बुकलेट तयार गर्न लागिएको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको एकिन गरेर त्यसको विस्तृत विवरणसहितको बुकलेट तयार गर्न लागिएको नगर प्रमुख कृष्ण रानाले बताए ।

‘पहिले स्थलहरु फिक्स गर्छाैँ । बजारबाट त्यहाँसम्मको दुरी, पुग्न लाग्ने समय र त्यस स्थलको महत्व लगायतका सम्पूर्ण विवरण उल्लेख गरेर बुकलेट तयार गर्छाैँ,’ उनले भने । यसरी तयार भएको बुकलेट जिल्लाका होटल व्यवसायीसँगै पर्यटक बढी आउने मनास्लु क्षेत्र, मनकामना मन्दिरलगायतका स्थानहरुमा वितरण गरिने उनले जानकारी दिए । पर्यटकलाई लक्षित गरी काठमाण्डौ, पोखरा लगायतका जिल्लाहरुमा पनि बुकलेट वितरण गर्ने योजना रहेको उनले बताए ।

उनका अनुसार अहिले प्रारम्भिक चरणमा पर्यटकीय स्थलहरुको पहिचान गरी दुरी नापजाँच गर्ने काम भइरहेको छ । पहिचान भएका प्रत्येक स्थलमा त्यो क्षेत्रको महत्वबारे उल्लेख गरिएको साइनबोर्ड समेत राखिने बताइएको छ । ‘पर्यटक त्यो ठाउँमा घुम्न आइसकेपछि त्यही बोर्ड पढेर त्यस स्थलको महत्वबारे थाहा पाउन सक्छन्’, उनले भने । दुई हप्ताभित्र स्थलहरुको पहिचान र नापजाँचको काम सम्पन्न हुने अनुमान गरिएको छ ।

पर्यटन प्रवद्र्धन गर्दै जिल्ला आउने पर्यटकको गोरखा बसाई लम्व्याउनका लागि उक्त योजना ल्याइएको मेयर रानाले बताए । उनले भने, ‘गोरखा आउने पर्यटकलाई घुम्ने ठाउँ कहाँ छ भन्ने पनि थाहा भएन, आयो दरवार र संग्रहालय हेरेर फर्किने गर्छन् । कमसेमक अरु महत्वपूर्ण स्थलहरुको बारेमा थाहा दिन सकियो भने त्यहाँ घुम्छन्, थप एक दिन भएपनि उनीहरु गोरखा बस्छन् ।’ नगरपालिकाले गाइड ट्रेनिङ पनि संचालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्