| शनिबार, फाल्गुन ३, २०८१

तीन करोडमा बन्यो रामेश्वरी माविको नयाँ भवन

गोरखाको शहिदलखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यमिक विद्यालय नयाँ भवन पाएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा चार कोठे पक्की भवन निर्माण भएको हो । भवन निर्माणमा एकिकरण नेपाल नामक गैरसरकारी संस्था र गाउँपालिकाको सहकार्य रहेको थियो ।

२ कारोड ८५ लाख खर्चेर भवन निर्माण भएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । ‘चार कोठे भवनसँगै खानेपानी, कक्षाकोठाका लागी आवश्यक फर्निचर र विद्यालय परिसरमा घेराबार समेत निर्माण भएको छ,’ उनले भने । भवनको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरेर विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जापानी राजदुत किकुता यूटुकाले भवनको उद्घाटन गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा शहिदलखन गाउँपालिका अध्यक्ष रमेशथापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वडा नम्वर ८ का अध्यक्ष बासुदेव ढकाल, जापानी राजदुतावासका प्रथम सचिब नाकामुरा केइको, चाइल्डफण्ड जापानका राष्ट्रिय निर्देशक काहोको आर्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, एकीकरण नेपालका अध्यक्ष मिलनसिंह बस्नेत, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष तथा वडा नम्वर ८ का सदस्य काशिनाथ अंगाई लगायतको उपस्थिति रहेको थियो ।

२०८० साउन १२ गते शिलान्यास गरिएको उक्त भवन चैत्रमा सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरिएको हो । एकिकरण नेपाल गोरखाको सार्वजनिक विद्यालयहरुको सिकाई वातावरण सुधार परियोजना अन्तरगत भवन निर्माण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्