| शुक्रबार, माघ ४, २०८१

त्रिशुलीमा खसेपछि चालकले फोनमा भनेका थिए, ‘दाइ, डुब्न लागेँ, बचाउनुस्’

विकास मरहट्टा :

शंकरलाई ब्यथाले सिकिस्त पार्दै गएको खबर पाएपछि मृतकका आमा, दिदीबहिनीहरु अघिल्लो दिन बिहिबारै काठमाडौँ पुगेका थिए । छोरा विवश र श्रीमती पहिल्यैदेखि उनको सेवा सुश्रुषमा थिए । शुक्रबार साँझ उनको मृत्यूको खबर पाएपछि छरछिमेकहरु पनि दाहसंस्कारका लागि माइक्रो रिजर्भ गरी काठमाडौँ पुगे । शुक्रवार दाहसंस्कार सकी राती करिव ११ बजे दुईवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौँबाट गोरखाका लागि हिँडे ।

एकाघरका छ जना सवार एउटा ट्याक्सी अर्जुन सिर्मलले चलाएका थिए, अर्को प्रकाश रोकाले । अर्जुन मृतक शंकरका ज्वाइँ हुन् । प्रकासचाहिँ अर्जुनका जेठान हुन् । ‘मेरो ट्याक्सीमा ज्वाँई (अर्जुन) को बुढी, भान्जी, भाईको छोरी र क्यान्सर लागेर बित्ने दाईको बुढी हुनुहुन्थ्यो,’ प्रकाशले भने, ‘ज्वाँइ (अर्जुन) ले चलाउनुभएको ट्याक्सीमा क्यान्सरबाट बित्नुभएका दाईको आमा, छोरा, जेठीदिदी, भान्जा, माइला ज्वाई र कान्छी बहिनी चढनुभएको थियो ।’ बिहान ४ बजे सबै चरौदी आइपुगेर सँगै चिया नास्ता गरेको उनले बताए ।

‘त्यहाँबाट म उछिनेर अगाडि लागेँ । बाटोमा अर्जुन ज्वाँइले फोन गरेर बाबुलाई खुवाउन स्याउ किन्नुप¥यो, मुग्लिनमा एकछिन गाडी रोक्नु है भन्नुभयो,’ प्रकाशले भने । प्रकास मुग्लिन आएर पर्खिरहे । छरछिमेक, आफन्तहरु चढेको माइक्रो आयो र उछिनेर गयो । तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन । ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाइँलाई दुई पटकसम्म फोन गरे तर उठेन’, प्रकासले भने, ‘पछि उतैबाट फोन आयो । फोन उठाउँदा एक्कासी दाई म डुव्न लागे मलाई बचाउनुहोस् भन्दै अत्तालिदै बोल्नुभयो ।’ बिहान ५ बजेर ६ मिनेट जाँदा फोन आएको उनले बताए ।

लोकेशन भन्नुस् भन्दै प्रकाशले बारम्वार सोधिरहे । तर उताबाट ‘म डुव्न लागे बचाउनुस्’ भन्ने उही वाक्य मात्र दोहोरिरह्यो । आवाज सानो हुदैँ गयो । त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटार फर्किए । त्यसपछि उनले माइक्रोमा रहेका आफन्तलाई फोन गरे, त्यतिबेला माइक्रो गोरखा नगरपालिका १३ मझुवा कटिसकेको थियो । ‘माइक्रोले उहाँहरुलाई मझिमटारमा ओभरटेक गरेको भन्ने थाहा पाएँ । त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सिधै मझिमटार गयौँ,’ प्रकाशले भने, ‘माइक्रो पनि फर्कियो । मझिमटारबाट खोज्दै कुरिनटारसम्म आयौँ, तर कहीँ कतै भेटिएन ।’

नभेटिएपछि प्रहरीलाई खवर गरे । उनीहरु कुरिनटारमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन प्रशिक्षण प्रतिष्ठानमा सम्पर्क गरे । प्रहरीको खोजतलासबाट बिहान सात बजे ट्याक्सी दुर्घटना भएको पत्ता लागेको थियो । दुर्घटनामा परेर मृत्यू भएका पाँचै जनाको शव शनिबार गोरखा अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ । एकजनाको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक रमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्