परिबारका सबै गुमेपछि किरिया बस्दै बबिता
कलेजो र पित्तथैलीको क्यान्सरसंग १३ महिना लामो लडाइँ हारेपछि श्रीमान शंकर रोकाको गत शुक्रबार निधन भयो । पशुपति आर्यघाटमा उनको दाहसंस्कार सकेर फर्कने क्रममा शनिबार विहान पाँच बजे त्रिशुलीमा ट्याक्सी खस्दा सासुआमासहित परिबारका पाँच जनाको मृत्यू भयो ।
बुबालाई दागबत्ती दिएर फर्केका एकमात्र सन्तान १८ बर्षका विवश रोका पनि सोही ट्याक्सी दुर्घटनामा परी बेपत्ता छन् ।
अकल्पनीय बज्रपात खेपिरहेकी परिबारकी एकमात्र जीवित सदस्य वविता रोका अहिले काजकिरियामा छिन् । उनी शंकरकी अर्धाङ्गिनी हुन् ।
‘परिबारका सबै गुमेपछि भाउजु एक्लै बाँकी हुनुहुन्छ । उहाँ नै किरिया बस्नु भएको छ’, देवर नाता पर्ने स्थानीय विकास रोका भन्छन्, ‘किरिया बस्न हामी दाजुभाइ खलक सबै तयार थियौँ, तर भाउजुले आफै किरिया बस्छु भनेपछि अरु बोल्ने कुरै भएन । अस्ति शनिबारदेखि आजसम्म तीन दिन भयो उहाँ परम्पराअनुसार सेतो पहिरनमा किरिया बसिरहनु भएको छ ।’
घरमुली शंकरका पिता दिलबहादुर रोका पनि १५ बर्षअघि दिवंगत भइसकेकाले उनको परिबारको विरासत ३६ बर्षकी वविताले काँध थाप्नु परेको छ । दुर्घटनामा मृतक शंकरकी आमा जुनकिरी रोका, जुनकिरीकी जेठी छोरी हरिमाया उपरकोटी, हरिमायाका आठबर्षका छोरा आगमन, कान्छीछोरी अञ्जना र ज्वाई अर्जुन सिर्मलको मृत्यू भएको थियो । जुनकिरीकी एक मात्र छोरा शंकर र शंकरका एक मात्र सन्तान विवश हुन् ।
मृत्यू भएका पाँचै जनाको शनिबार राती रामशाहघाटमा संयुक्त दाहसंस्कार गरिएको थियो । परिबार कोही पनि बाँकी नरहेपछि उनकी सासुआमा जुनकिरीलाई देवर हरिबहादुर रोकाले दागबत्ती दिएका विकास रोकाले बताए । किरिया बस्ने क्रममा बबिता हराइरहेका छोरा विवशलाई सम्झेर भक्कानिने गर्छिन् । ‘श्रीमान सम्झेर होला, सासुलाई सम्झेर होला । त्योभन्दा अझ छोरा हराइरहेको छ । अहिलेसम्म फेला पार्न सकिएको छैन । यस्तैयस्तै सम्झेर होला, भाउजु बेलाबेला भक्कानिनुहुन्छ’, विकासले भने ।
विवशको खोजीमा पौवाखेतका १० जनाको टोली दैनिक पालो लगाएर त्रिशुलीको किनारै किनार ओहोरदोहोर गरिरहन्छन् । ‘तीनदिन भयो खोजेको खोजै छौँ । फेला परेको छैन’, अर्का स्थानीय सागर रोका भन्छन्, ‘यसअघि यस्तै हराएका मान्छे खोजेका अनुभवीहरु चार दिनमा पाखामा उतार्छ भन्छन्, भोलि त पाइन्छ कि भन्ने आशा छ ।’ पितृशोकमा रहेका विवश कक्षा १२ को परीक्षाको तयारी गरिरहेका थिए ।