| बिहिबार, मंसिर २०, २०८१

सातै प्रदेशमध्य गण्डकी प्रदेशको धितो बन्धक बापतको राजस्व उच्च, ब्लु इनर्जी प्रालिले ति¥यो ४९ लाख रुपैयाँ राजस्व

गण्डकी गाउँपालिका १ बुटारस्थित त्रिशुलीमा सञ्चालन गर्न लागिएको सुपर त्रिशुली जलविद्युत आयोजनाको प्रवद्र्धक ब्लु इनर्जी कम्पनी प्रालिले धितोबन्धकबापत ४९ लाख रुपैयाँ राजस्व तिरेको छ । गण्डकी प्रदेश सरकारको राजपत्रमा प्रकाशित दररेटअनुसार १२ अर्ब ३३ करोड ४९ लाख रुपैयाँको धितो बन्धकबापत ४९ लाख ३३ हजार नौसय ८४ रुपैयाँ राजस्व तिरेको सुपर त्रिशुली जलविद्युत आयोजनाका निर्देशक निराजन रेग्मीले जानकारी दिए ।

छ वटै प्रदेश सरकारले प्रकाशित गरेको राजपत्रहरुमा जतिसुकै धेरै अंकको धितोबन्धक राखेबापत दुईलाखदेखि तीनलाख रुपैयाँसम्म राजस्व असुल गर्ने उल्लेख छ । तर गण्डकी प्रदेश सरकारले भने सो कम्पनीसंग ४९ लाख रुपैयाँ राजस्व असुल गरेको हो ।

‘त्यति धेरै राजस्व लाग्ला भन्ने अनुमान थिएन । त्यसैले पहिलो पटक मालपोतमा जाँदा त्यति रकम लगिएन’, उनले भने, ‘त्यो बेला फर्कियौँ । प्रदेशको राजपत्रमा उल्लेख भएको राजस्व त तिर्नैप¥यो । फेरि दोस्रो पटक गएर तिरेका हौँ ।’ राजपत्रमा प्रकाशित दररेटअनुसार राजस्व तिर्दा कुनै गुनासो नरहेको उनले बताए ।

सातवटै प्रदेशको राजपत्रमा प्रकाशित धितोबन्धकको दररेट विश्लेषण गर्दा गण्डकी प्रदेशको दररेट उच्च रहेको पाइएको छ । गण्डकी प्रदेश राजपत्र भाग १ को नंबर ‘ण’ मा ५० करोड भन्दा धेरै जतिसुकै सम्मको थैली अंकमा कूल लागत रकमको ०.०४ प्रतिशत राजस्व लिने व्यवस्था छ । वाग्मती प्रदेशको राजपत्रमा भने एक अर्बभन्दा माथिको जतिसुकै लिखतको थैली अंकमा तीनलाख रुपैयाँ राजस्व लिने उल्लेख छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारद्वारा प्रकाशित राजपत्रमा २५ करोडभन्दा धेरै जतिसुकै लिखतको थैली अंकमा दुईलाख रुपैयाँ राजस्व लिने उल्लेख गरेको छ । त्यस्तै कोशी प्रदेश सरकारको राजपत्रमा एक अर्बभन्दा माथिका जतिसुकै लिखतको थैली अंकमा दुईलाख ५० हजार राजस्व लिने उल्लेख छ । मधेश प्रदेश सरकारको राजपत्रमा २० करोडभन्दा माथिका जतिसुकै लिखतको थैली अंकमा दुईलाख रुपैयाँ राजस्व लिने उल्लेख छ । कर्णाली प्रदेश सरकारको राजपत्रमा पाँच करोडभन्दा माथिका जतिसुकै लिखतको थैली अंकमा एकलाख रुपैयाँ राजस्व लिने उल्लेख छ भने सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा ५० करोडभन्दा माथिका जतिसुकै लिखतको थैली अंकमा दुईलाख रुपैयाँ राजस्व लिने उल्लेख छ ।

राजस्वको दर उच्च हुँदा लगानीकर्ताहरु बिच्किने सम्भावना हुने टिप्पणी गरिएको छ । ब्लू इनर्जी कम्पनीले १९ अर्ब रुपैयाँ लागतमा बुटारमा १०० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको छ । सो आयोजना रन अफ रिभर प्रविधिको नेपालको पहिलो जलविद्युत आयोजना हो । २४.५ मिटर अग्लो र १८२.६ मिटर लम्बाइको बाँध बाँधेर पावर हाउस निर्माण गरी तीन टर्बाइनबाट ७२५ लिटर प्रतिसेकेण्डका दरले १०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।

त्यहाँबाट उत्पादित विजुली १८.८ किलोमिटर लामो २२० केभी सबल सर्किट प्रशारण लाइनमार्फत मार्किचोकमा अवस्थित सबस्टेशनमा जोडिने छ । सो परियोजना सञ्चालनका लागि आयोजना र विद्युत विकास विभागसंग गत जेठ २८ मा सम्झौता भएको छ । विभागले ३५ बर्षका लागि बुट आधारमा व्लू इनर्जी कम्पनीलाई इजाजत पत्र प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्