| सोमवार, भदौ २४, २०८१

बहुउदेश्यीय भवनमा सात महिनादेखी छैन बिजुली

गोरखा नगरपालिका वडा नं ६ र ७ को सिमाना विपिचोक नजिकै रहेको बहुउदेश्यीय भवनमा बिजुली नहुदाँ भाडामा बस्दै आएका व्यवसायी मर्कामा परेका छन् । करिव सात महिनादेखि बिजुली नभएको उनीहरुले बताएका छन् । मासिक रुपमा भाडा तिर्दै आएपनि आवश्यक सेवा सुविधा उपभोग गर्न नपाएको उनीहरुको गुनासो छ ।

‘हामीले पानी बिजुली लगायत तिनुपर्ने सबै भाडा नियमित दिँदै आएका छौ तर बिजुली छैन,’ एक व्यवसायी भन्छन्, ‘जाडो महिनामा त जसोतसो चलेकै थियो अहिले गर्मीमा धेरै गाह्रो भएको छ ।’ खाद्य बस्तु भण्डारणमा समस्या भएको उनको भनाइ छ । ‘फ्रिज नै बिग्रन लागिसक्यो । पानी, जुसहरु राख्न पाएका छैनौँ । अब झन् गर्मी बढ्दैछ, बिजुली भएनभने निकै समस्या हुन्छ,’ अर्का व्यवसायीले गुनासो गरे ।

बिद्युत सेवा उपभोग गर्न नपाएपनि महशुल भने नियमित तिर्नुपरेको भन्दै उनले दुखेसो पोखे । महशुल नबुझाएको भन्दै बिद्युत प्राधिकरणले उक्त भवनको लाइन काटिदिएको हो । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले ठेकेदारको कमजोरीका कारण समस्या भएको बताए । ‘भवनलाई नगरपालिकाले ठेक्कामा चलाउन ठेक्का सम्झौँता गरेका थियौँ’, उनले भने, ‘त्यहाँको बिजुली पानी सबै हेर्ने जिम्मा ठेकेदारको थियो तर उनीहरुले ठेक्का सम्झौँता अनुसार काम गरेनन् ।’

ठेकेदारले नगरपालिकालाई सम्झौँता अनुसार बुझाउनु पर्ने रकम समेत नतिरेको मेयर रानाले आरोप लगाए । ‘हामीले पुरानो ठेक्का रद्द गरिसक्यौ, अहिले नयाँ ठेक्का आवहान गरेका छौँ,’ उनले भने । छिटै ठेक्का सम्झौँता गरेर भवनलाई व्यवस्थित ढंगले संचालन गर्ने उनले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्