| मङ्लबार, बैशाख १८, २०८१

पालुङटारले व्यवसायीलाई दिएको ऋण : कर्मचारी र शिक्षकले बुझाउन थाले, व्यवसायीद्वारा अटेर

व्यवसाय प्रवद्र्धनका लागि भन्दै पालुङटार नगरपालिकाले नगरबासीलाई उपलब्ध गराएको ऋण अझै फिर्ता भएको छैन । सार्वजनिक सूचना मार्फत समयसिमा तोकेर ऋण फिर्ता गर्न आग्रह गरेपनि अधिकांशले अझै बुझाएका छैनन् । व्यवसाय गरेर स्वरोजगार बन्न चाहनेलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले २०७५ सालमा दुई प्रतिशत व्याजदरमा ५० हजारदेखि ६ लाखसम्म ऋण उपलब्ध गराएको थियो ।

व्यवसायीदेखि जनप्रतिनिधि, कर्मचारी र शिक्षक समेतले ऋण लगेका थिए । तीन बर्षभित्र तिर्नुपर्ने उक्त ऋण अधिकांशले फिर्ता नगरेपछि सार्वजनिक सूचना मार्फत ऋण तिर्न पालिकाले ताकेता गरेको थियो । ‘करिव चार करोड ऋण उठ्न बाँकी भएपछि हामीले सूचना जारी गरेर जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई चैत मसान्तभित्र र अन्य व्यवसायीलाई बैशाखमसान्तभित्र ऋण तिर्न भन्यौँ,’ प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले भने, ‘कर्मचारी र जनप्रतिनिधिको लगभग उठ्यो, अन्य व्यवसायीको अझै बाँकी छ ।’

केही व्यवसायी सम्पर्कमा आएको बताउँदै उनले तोकिएको समयसीमा भित्र ऋण फिर्ता हुनेमा आफू आशावादी रहेको बताए । तोकिएको समयसीमाभित्र पनि ऋण रकम चुक्ता नगरे जनप्रतिनिधि, कर्मचारी र शिक्षकको हकमा तलव भत्ताबाट रकम कट्टा गर्ने र अन्य ऋणीको हकमा सेवा सुविधा रोक्का गर्न चेतावनी नगरपालिकाले दिदैँ आएको छ ।

प्रतिक्रिया दिनुहोस्