| शनिबार, बैशाख २२, २०८१

जेठ १६ देखि पोलियो रोग बिरुद्धको खोप अभियान सुरु

जिल्लामा पोलियो रोग बिरुद्धको आईपीभी खोप अभियान संचालन हुने भएको छ । २०७३ साल बैशाखदेखि २०७५ साल असोज महिनाभित्र जन्मिएका बालबालिकालाई लक्षित गरी अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जेठ १६ गतेदेखि २२ गतेसम्म जिल्लाका सबै पालिकामा एकैसाथ अभियान संचालन हुने कार्यालयका खोप फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले बताए । ‘खोप अभाव भएर २०७३ साल जेठ महिनादेखि २०७५ साल भदौ महिनासम्मका लक्षित समूहका बालबालिकाहरु खोप लगाउन छुटेका थिए,’ उनले भने, ‘उनीहरुलाई लक्षित गरीे अहिले खोप अभियान संचालन हुन लागेको हो ।’

अभियान अन्तरगत करिव १३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए । सो अवधिमा खोप लगाउन छुटेका बालबालिकालाई एक मात्रा आइपिभि खोप लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिको २०७९ मसिर २५ गतेको बैठकले सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा चालु आर्थिक बर्ष २०८०/८१ मा खोप अभियानका लागि बजेट विनियोजन भएको र अभियान संचालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

विद्यालयहरुमा खोप केन्द्र रहने भएकाले पायक पर्ने विद्यालयमा लगेर आफ्नो बालबालिकालाई खोप लगाउन कार्यालयले आग्रह गरेको छ । कार्यालयका अनुसार पोलियो रोग लागेका व्यक्तिलाई अतिशिघ्र लुलो पक्षघातसँगै मृत्युसम्म हुन सक्छ । ५ बर्ष मुनिका बालबालिकालाई यो रोग लाग्ने बढी जोखिम रहेको कार्यालयका दानीले बताए । यो रोगको कुनै निश्चित औषधी उपचार नभएकाले यसबाट बच्न खोप नै लगाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्