| शनिबार, बैशाख २२, २०८१

अतिथि स्वागतमा बिही मोडल

बस्ती दुर्गममा छ । मनास्लु पदमार्गबाट पनि ‘पाखा’ परेको छ । गाउँबासी सबै किसान हुन् । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भर्खर तातेताते गर्दै अघि बढिरहेको चुमनुब्री ५ बिही गाउँ अतिथि सत्कारका लागि भने चर्चायोग्य छ । वडा नं. ५ को ड्याङ, राना, बिही र क्य्राक गाउँका आमा समूहहरुले अतिथि सत्कारका लागि साझा निर्णय गरेका छन् । साबिक बिहीको क्षेत्रभित्र प्रवेश गर्ने विशेष खालका पाहुनालाई ड्याङ र रानाका आमा समूहले लामवद्ध भएर ड्याङमा स्वागत गर्ने गर्छन् ।

‘प्रमुख लामागुरु रिम्पोछे, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु गाउँमा आउने खबर पाइयो भने सुरुमा राना र ड्याङका आमा समूहले ड्याङमा खादा माला लगाएर, मिठो चोखो खुवाएर स्वागत गर्छन्’, बिही आमा समूहकी अध्यक्ष निमा डिकी लामा भन्छिन्, ‘त्यहाँबाट आमा समूहले पाहुनालाई अघि लगाउँदै राना र बिहीको बीचको पुल तारेर युडुङ गाउँसम्म पु¥याएर फर्कन्छन् । त्यहाँ बिही आमा समूहले त्यसैगरी स्वागत गर्छन् । त्यहाँ पनि मिठोचोखो खुवाउँछन् । बिही आमा समूहले पाहुनालाई अघिपछि लगाएर क्य्राक प्रवेश गर्ने चौतारा वाङसुरसम्म पु¥याउँछन् । त्यहाँबाट क्य्राकको आमा समूहले स्वागत गरेर गाउँमा लैजान्छन् ।’

स्वागतका क्रममा आमा समूहले पाहुनालाई भुइँमा कम्मल ओछ्याएर आसन ग्रहण गराई सो क्षेत्रमा प्रचलित सांस्कृतिक गीत गाएर नाच प्रदर्शन गर्ने गर्दछन् । पाहुनालाई एक गाउँबाट अर्को गाउँमा नपुगुञ्जेल स्कटिङ गर्ने र अर्को आमा समूहलाई हस्तान्तरण गर्ने प्रचलन रहेको छ । गाउँका सबै महिलाहरु कृषि कर्ममा लाग्ने हुँदा स्वागत, सत्कारमा हिड्न नसक्नेहरुको संख्या पनि धेरै छ ।

पाहुना स्वागत, सत्कारका लागि अनुकूल हुने महिलाहरु मात्र जाने नियम बनाएको महिला समूहले जनाएको छ । ‘हालसालै निर्णय गरेर यस्तो चलन चलाएको जम्मा तीन, चार महिना मात्र भएको छ’, बिही आमा समूहकी अध्यक्ष लामाले भनिन्, ‘हाम्रो सेवाबाट खुशी भएर कसैले धेरथोर दान पनि गर्नुहुन्छ । त्यो पैसा समूहको कोषमा राखेर यही सम्मान, सत्कारमा चिया, कफी, खादा माला जुटाउन खर्च गर्छौँ ।’ दान स्वेच्छिक भएकाले कसैले दिने, कसैले नदिने उनले बताइन् । सम्मान सत्कार पाहुनलाई आर्थिक बोझका लागि नभै खुशी पार्ने मुख्य उद्देश्य रहेको आमा समूहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्