| शनिबार, बैशाख २२, २०८१

सामागाउँमा धाजाङ मेला सुरु, मेला समापनपछि मात्र खेतीपाती सुरु हुने

जिल्लाको सुदूर उत्तरी सामागाउँमा हरेक बर्ष आलुखेती लगाउनुअघि गरिने धाजाङमेला मंगलबारबाट सुरु भएको छ । चुमनुब्री गाउँपालिका १ को गौरीशंकर आधारभूत विद्यालय रहेको मैदानमा दुई दिने धाजाङ मेला सुरु भएको हो ।

किसानहरुले आलु खेती लगाउनु अघि हरेक बर्ष धाजाङमेला हुने गर्दछ । मेलामा घोँडादौड, तीर हान्ने, फुटबल लगायतका खेलकुदका कार्यक्रम भएका छन् । धाजङमेला नगरी खेतीबाली लगाउनु हुन्न भन्ने जनविश्वास सामागाउँमा छ ।

सामागाउँमा प्रत्येक वर्ष धाजाङ्ग मेला गरेर मात्र खेतबारीको काम सुरु हुने स्थानीय छिरिङ नुर्बु लामाले जानकारी दिए । मेलाको पहिलो दिन मंगलबार तीर हान्ने प्रतियोगिता सम्पन्न भएको उनले बताएका छन् । सो प्रतियोगितामा चुमनुब्री १ का पुर्व वडा सदस्य मिङ्मार लामा प्रथम बनेका उनले जानकारी दिए ।

हिमपातका कारण धाजाङ्ग मेला प्रभावित बनेको थियो । यस्तै, बुधबार घोडा दौड, फुटबल र डोरी तान्ने प्रतियोगीता गरी मेला सम्पन्न हुने लामाको भनाई छ । ‘बुधबार मेला समापन हुन्छ, त्यसपछि बिहिबारबाट यहाँ खेतीबालीको काम सुरु गरिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्