कीर्तिमान रच्दै गोर्खाली, यो सिजनमा १३ जनाले चढे सगरमाथा
सगरमाथा आरोहणका सिलसिलामा गोरखाका आरोहीहरुले विभिन्न किर्तिमान रचेका छन् । यो सिजनमा सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा चुमनुब्री ७ छेकम्पारकी फुञ्जो झाङ्मु लामाले विश्व किर्तिमान कायम गरेकी छिन् । साथै उनले आरोहण सुरु गरेदेखि सबैभन्दा छिटो बेसक्याम्प फर्कने महिलाका रुपमा पनि नयाँ रेकर्ड बनाएकी छिन् ।
त्यस्तै एउटै सिजनमा तीनपटक सगरमाथा आरोहण गर्ने महिलाका रुपमा आरुघाट १० की पूर्णिमा श्रेष्ठले नयाँ रेकर्ड बनाएकी छिन् । त्यस्तै बेसक्याम्पबाट सगरमाथा आरोहण गरी लगत्तै चार नम्बर क्याम्पबाट ल्होत्से आरोहण गरी बेसक्याम्प छिटो फर्कने महिलाका रुपमा चुमनुब्री १ सामागाउँकी नाङ्सल छोदेन लामाले नयाँ रेकर्ड बनाएकी छिन् ।
यो वर्षको वसन्त ऋतुमा गोरखाका १३ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सबैभन्दा धेरै धार्चे गाउँपालिकाका आठ, चुमनुव्री गाउँपालिकाका दुई, आरुघाट गाउँपालिकाका दुई र बारपाक सुलिकोटका एक जनाले सगरमाथाको सफल आरोहण गरेका हुन् । सगरमाथा चढ्नेमा धार्चे–२ लाप्राकका मात्रै ६ जना रहेको सगरमाथा आरोही एवं अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले बताए ।
उनका अनुसार यो सिजनमा लाप्राकका सुमन गुरुङ, इमान गुरुङ, सन्दिप गुरुङ, रामबहादुर गुरुङ, सुजल गुरुङ र बुद्ध गुरुङले सगरमाथाको सफल आरोहण गरेका छन् । त्यस्तै धार्चे गाउँपालिका–३ उहियाका माइला गुरुङ र मनुमाया गुरुङले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । चुमनुव्री गाउँपालिका वडा नम्वर ७ की फुन्जो लामा, वडा नम्वर १ की नाङ्सल छोदेन लामा, आरुघाट गाउँपालिका वडा नम्वर १० की पूर्णिमा श्रेष्ठ, वडा नम्वर ३ का यानबहादुर थापा र बारपाक सुलिकोट–३ का अनुप गुरुङले पनि यो सिजनमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
लाप्राकका सुमनले यो सहित छ पटक सगरमाथा चढिसकेका छन् । बारपाक सुलिकोटका अनुपको भने यो पाँचौ पटकको आरोहण हो । आरुघाटकी पूर्णिमाले एकै सिजनमा तीन पटकसहित चार पटक सगरमाथाको सफल आरोहण गरेकीछिन् । लाप्राकका इमानले पनि यसअघि तिन पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । आरुघाटका यान बहादुरको भने यो तेस्रो पटक हो ।
लाप्राकका रामबहादुर र उहियाका माईलाले सगरमाथा चढेको यो दोस्रो पटक हो । धार्चेका मनुमानले भने पहिलो पटक सगरमाथा चढेका हुन् । लाप्राकका सुजल, बुद्ध र सन्दिप लाप्राकस्थित मणिकामदेबी माविको लोगो र ब्यानरसहित सगरमाथा शिखरमा पुगेका हुन् । चुमनुब्रीकी नाङ्सलले २२ घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से एकसाथ आरोहण गरेकीछन् ।
अघिल्लो बर्ष ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गरेकी चुमनुब्री १ सामागाउँकी नाङ्सलले पहिलो पटक एकैसाथ दुवै हिमाल आरोहण गरेकी हुन् ।पहिलो प्रयासमै सर्वोच्च शिखर सगरमाथा २२ घण्टा १५ मिनेटमा पुग्न सफल भएकी उनले त्यसको लगत्तै ८,५१६ मिटर अग्लो ल्होत्सेको आरोहण गरेकी हुन् । गण्डकी प्रदेशकै प्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति लाप्राकका इमानसिँह गुरुङ हुन् ।
त्यस्तै लाप्राककै युक्त गुरुङले आठ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । तुलसिङ गुरुङ, मुलाल गुरुङ, पुरबहादुर गुरुङ, आशबहादुर गुरुङ, बिसबहादुर गुरुङ र बारपाक सुलिकोटका धनप्रसाद घलेले पनि सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।