गोरखा लिग फुटबल प्रतियोगिता एकसातादेखि स्थगित, विवाद चर्किँदै
गोरखा नगरपालिका वडा नं १० छेवेटारमा सञ्चालित ‘गोरखा लिग फुटबल प्रतियोगिता’ स्थगित भएको छ । जेठ १९ गतेबाट सुरु भएको जिल्ला लिग गत आइतबारदेखि स्थगित भएको हो । जिल्ला फुटबल संघले कार्यविधि मिचेर खेल खेलाएको गरेको भन्दै असन्तुष्ट क्लवहरुले असहमति जनाएपछि विवादित बनेको थियो ।
क्लवहरुबीच विवाद बढ्दै गएपछि खेल नै स्थगित बनेको हो । सतिपिपल युवा क्लव, बौद्ध हिमाल युवा क्लव, चेपे आदर्श युवा क्लव र आदर्श युवा क्लवले संघले कार्यविधिमै नभएको नियम लगाएर आफुहरुलाई मर्कामा पारेको आरोप असन्तुष्ट क्लवहरुले आरोप लगाएका छन् ।
लिग फुटबल प्रतियोगिता अन्तरगतको ११ औँ खेल गत २३ गते बौद्ध हिमाल र हरमटारी युवा क्लवबीच भएको थियो । उक्त खेलमा हरमटारीलाई ३–० ले हराउँदै बौद्ध हिमाल युवा क्लब विजयी बनेको थियो । बौद्ध हिमालले लगतै १७ औँ खेल गत मंगलबार मस्र्याङ्दी युवा क्लव बीच खेलेको थियो । उक्त खेलमा पनि बौद्ध हिमालल मस्र्याङ्दीलाई ३–० गोल अन्तरालले पराजित गरेको थियो ।
१७ औँ खेल लगतै पराजित टिमहरु हरमटारी युवा क्लव र मस्र्याङ्दी युवा क्लवले आफुहरुलाई दावी विरोध पेश गरेको प्रदेश एनफाका निवर्तमान महासचिव प्रेम गुरुङले बताए । ‘दुवै क्लवहरुले हाम्रो खेलाडी सन बहादुर गुरुङले लम्जुङमा जिल्ला लिग खेलेको भन्दै दावी विरोध पेश गरेका रहेछन्’, उनले भने, ‘सन बहादुरले लम्जुङको लिग छनोटको खेल मात्र खेलेका हुन्, लम्जुङ फुटबल संघले सो कुराको स्पष्टिकरण समेत दिइसकेको छ ।’
एन्फाको नियमावलीमा छनोट चरणमा खेलेको खेलाडीले जिल्ला लिग खेल्न नपाउने प्रावधान नरहेको क्लवले जनाएको छ ।
‘क्लवले आफु अनुकल निर्णय गरेको हो’, सतिपिपल युवा क्लवका अध्यक्ष प्रविन बस्नेतले भने, ‘संघका पदाधिकारीहरु छलफल गर्न बोलाउँदा समेत आउनु भएन ।’
हरमटारी र मस्र्याङ्दीसँग भिड्ने अन्य टिमहरुलाई निकै चुनौती थपिएको उनले बताए । ‘अवैधानिक ढङ्गले अङ्क दिइएको छ, उनीहरुसँग खेल्ने अरु टिमहरुलाई निकै चुनौती थपिएको छ’, उनले भने । यसरी संघले बिना सल्लाह एकाएक फैसला गरेको भन्दै बस्नेतले आपत्ती जनाएका छन् । जिल्ला लिगमा ११ टिमको सहभागिता रहेको थियो ।