| शनिबार, माघ ५, २०८१

प्राविधिक कारणले एसईईमा धक्का लागेको कांग्रेस गोरखाको निश्कर्ष

यसअघिको उदार कक्षोन्नति र कोभिड राहत पासका कारण यसबर्षको एसईईमा ठूलो धक्का लागेको नेपाली कांग्रेस गोरखाको शिक्षा शाखाले निश्कर्ष निकालेको छ । शाखाको केही दिनअघि बसेको बैठकले दशकौंदेखि उदार कक्षोन्नतिको अभ्यासले विद्यार्थीमा मिहिनेत गर्ने बानी हटेको र यस बर्षको एसईईमा एक्कासी कडाइ गर्दा धक्का लागेको निश्कर्ष निकालेको शाखाले जनाएको छ ।

‘भूकम्पका बेला पनि राहत पासको सुविधा पाए । कोभिडका कारण २०७७ सालदेखि लगातार तीनबर्ष विद्यालयको आन्तरिक मूल्यांकनबाट उतीर्ण भए । अरु कक्षामा पनि फेल नगर्ने परिपाटी बन्यो । तिनै विद्यार्थी अहिले एसईईमा सहभागी भए’, कांग्रेस, शिक्षा शाखाका प्रमुख लुमनाथ लामिछानेले भने, ‘अहिलेको एसईईमा त्यसकै असर परेर धेरै परीक्षार्थी अनुतीर्ण भएका हुन् भन्ने हाम्रो निश्कर्ष रह्यो ।’ साथै सरकारले अपनाएको उदार कक्षोन्नतिले पनि विद्यार्थीमा मिहिनेत गर्ने बानी घटाएको निश्कर्ष निकालिएको उनले बताए ।

हालै सार्वजनिक भएको एसईईको नतिजा निराशाजनक भएको र सबैले शिक्षकलाई मात्र त्यसको दोषारोपण गरिरहेको परिप्रेक्ष्यमा कांग्रेस गोरखाको शिक्षा विभागको बैठक बसेको थियो । ‘गतबर्षसम्म प्रयोगात्मक र सैद्धान्तिक जोडेर पास गर्नुपर्ने थियो तर अहिले सैद्धान्तिकमा पनि पास हुनुपर्ने नीति आयो’, लामिछानेले भने, ‘पोहोरसम्म म्याथ, इङ्ग्लिस साइन्समा १.६ जीपीए ल्याए पनि पास हुने व्यवस्था थियो ।

ननग्रेडिङ भए पनि क्याम्पस पढ्न पाउने व्यवस्था थियो । फेल भन्ने हुदैनथ्यो । तर एक्कासी अहिले सबै विषयमा पास हुनैपर्ने व्यवस्था लागु भयो । यसको असर पनि धेरै प्रतिशत अनुत्तीर्ण भएका हुन् ।’ साथै पहिले ३० प्रतिशत ल्याए पास हुनेमा अहिले ३५ प्रतिशत अंक ल्याए मात्र पास हुने नीति आएका कारण पनि अनपेक्षित नतिजा आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्