| सोमवार, चैत्र ३, २०८१

स्थानयि उत्पादनमा आत्मनिर्भर बन्ने भीमसेन थापाको लक्ष्य

भीमसेनथापा गाउँपालिकाले एक वडा एक पकेट क्षेत्र बिकास गर्ने नीति पारित गरेको छ । कृषकको हकहित संरक्षण र सम्र्वद्धन गर्दै कृषि क्षेत्रलाई उत्पादनमुखी र रोजगारमुलक बनाउन उक्त नीति ल्याइएको बताइएको छ ।

पालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले सार्वजनिक गरेको आगामि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ । कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण बनाउँदै कृषि उपजको उत्पादनमा पालिकालाई आत्मर्निभर बनाउने लक्ष्य रहेको उनले बताए ।

विषादी प्रयोगलाई न्यूनिकरण गर्दै प्राङ्गारिक मल प्लान्ट संचालन गर्ने नीति पालिकाको छ । आगामि ५ वर्षभित्र पालिकालाई फलफुल, तरकारी र खाद्यान्नमा आत्मर्निभर बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने पालिकाले जनाएको छ । आगामि आर्थिक वर्ष किसान पेन्सन बचत योजना संचालन गर्ने बताइएको छ । हरेक वडामा पशु प्राविधिकको व्यवस्था मिलाइने, छाडा कुकुरहरुको बन्ध्याकरण गर्ने, कृषिजन्य वस्तुको प्रशोधन उद्योग संचालन गर्न पहल गर्ने लगायतका नीति पालिकाले ल्याएको छ ।

पालिकाभित्रका खनिज र उत्पादित वस्तुहरु उत्खनन् र प्रशोधन गर्न अनुमति दिने पालिकाले जनाएको छ । सम्भाव्य पर्यटकीय क्षेत्रको पहिचान गरी भीमसेनथापा सेरोफेरो तयार पारिने कार्यक्रम पनि पालिकाले ल्याएको छ । यसैगरी, दुल्लभ पार्क, भीमसेनथापा स्मारक पार्क, भीमसेनथापा संग्रहालय र जनयुद्ध संग्रहालय, शहिदस्मृति पार्क, मसेल ठूलो पोखरी, इत्ला पोखरी, कोटकाली, चार धार्मिक धाम, मुडुलोथुम्को पार्क, अश्राङ्गकोट, कनकामना, चुलिडाँडा, काशीघाट लगायतका पर्यटकीय क्षेत्रहरुको बिकास गरी आन्तरिक पर्यटनको लागि उपयुक्त वातावरण निर्माण गर्न आवश्यक पूर्वाधार तयार गर्ने पालिकाले जनाएको छ ।

विद्यालयहरुलाई मर्ज गरी मेघा विद्यालय संचालन गर्ने नीति पालिकाले ल्याएको छ । विद्यालय नक्सांकन र दरबन्दी मिलान कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाइने बताइएको छ । स्थायी प्रधानाध्यापक नियुक्ति, ‘गाउँपालिकाको इच्छा, बुहारीलाई शिक्षा’ कार्यक्रम संचालन, ई–हाजिरी, कक्षा १–५ का लागी स्थानीय पाठ्यक्रम ‘भीमसेन थापाको सेरोफेरो’ प्रकाशन लगायतका नीति तथा कार्यक्रमहरु पालिकाको छ ।

पूर्ण साक्षरता अभियान अन्तरगत आईटि साक्षरता, कानुनी साक्षरता र वित्तिय साक्षरता कार्यक्रम संचालन गर्ने पालिकाले जनाएको छ । उच्च शिक्षाका लागी गृह जिल्लाको सरकारी तथा सामुदायिक क्याम्पस अध्ययन गर्ने विद्याथीहरुलाई छात्रवुत्ति अनुदान प्रदान गरिने पालिकाले जनाएको छ ।

खेलकुद क्षेत्रको बिकास गर्न पालिकामा सुविधासम्पन्न खेलमैदान निर्माण गर्ने, खेल प्रतिष्ठान बिकास गर्ने, वडा र पालिका स्तरीय खेलहरुबाट उत्कृष्ट खेलाडीहरु छनोट गरी तालिम प्रदान गर्ने र पार्क तथा खुला क्षेत्र निर्माण गर्दा महिला, बालबालिका तथा जेष्ठ नागरिकमैत्री बनाइने नीति समेत पालिकाले ल्याएको छ । गर्भवती महिलाहरुलाई सुत्केरी सेवाका लागी स्वास्थ्य संस्था आउने जाने र जटिलता भए अस्पताल जानु परे निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने नीति पालिकाको छ ।

सबै वडाका नागरिकहरुलाई कम्तीमा महिनामा १ पटक घुम्ति अस्पताल सेवा ‘स्याटलाइट क्लिनिक’ मार्फत चिकित्सकीय सेवा प्रदान गरिने पालिकाले जनाएको छ । मुटु रोग, मृगौला रोग, क्यान्सर लगायतका घातक रोगहरुको समयमै पहिचान गरि उपचारको दायरमा ल्याउन र थप बिग्रन नदिन रोगहरुको स्क्रिनिङ गर्न बिशेष कार्यक्रम तथा शिविर समेत संचालन गरिने बताइएको छ ।

आत्महत्या न्युनिकरणका लागी विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्ने, कमसल खालका मदिरालाई प्रतिबन्ध लगाउने, बुढीगण्डकी बृद्धाश्रम संचालन कार्यक्रमलाई निरन्तरता दिने, वडादेखि पालिकाकेन्द्रसम्म बाह्रै महिना सडक सुचारु हुनेगरी सडक स्तरोन्नतीको काम लागी अघि बढाइने, नयाँ ट्रयाक खोल्ने काम निरुत्साहन गर्ने लगायतका नीति तथा कार्यक्रमहरु पालिकाले ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्