| आइतवार, असार ३१, २०८१

बाढीले उत्तरी गोरखामा एक घर र दुई काठे पुल बगायो, गुम्वामा क्षति


अविरल बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ डम्वा भन्ने स्थानमा गएको पहिरोले एक घर बगाएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले कटान गरेर पहिरो गएपछि घर बगाएको हो । नजिकै रहेको डम्वा गुम्वामा पनि पहिरोले क्षति पुगेको छेकम्पारका पेमा थार्जेन लामाले बताए ।


‘रातीदेखि नै बुढीगण्डकी नदीमा बाढी आएर भित्ता कटान गर्न थालेको रहेछ,’ उनले भने, ‘बिहान हेर्दा हेर्दै घर नै बगायो ।’ उनका अनुसार गुम्वाका लामाको उक्त घरमा गुम्वा हेरचाह गर्ने आनी बस्थिन् । त्यो रात उनी घरमा नभएकाले मानविय क्षति नभएको स्थानीयले बताएका छन् । ‘त्यो घरमा एक जना आनी बस्नुहुन्थ्यो, तर हिजो राती उहाँ बस्नुभएको रहेनछ, नत्र उहालाई पनि बगाउथ्यो,’ लामाले भने । बर्षा नरोकिए गुम्वा पनि बगाउने उनले जानकारी दिए । नदीमा वाढी आएर पहिरो जान थालेपछि नजिकै रहेको अन्य घरका स्थानीय घरभन्दा माथि रहेको ओडारमा सरेका छन् । घरको सबै सामान उनीहरुले ओडारमा सारिसकेका छन् ।


यता चुमनुव्री गाउँपालिका–७ छेकम्पारमा दुई वटा काठे पुल बगाएको छ । लामा गाउँबाट राजेन गुम्वा जाने नाकी खोला र लारबाट फुर्के जाने लार खनग्यु खोलामाथिको काठे पुल बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘हिजो राती खोलामा बाढी आएर दुवै पुल बगाएछ,’ उनले भने, ‘राजेन गुम्वा, लार, फुर्के र लामा गाउँका स्थानीयलाई आउजाउमा समस्या भएको छ ।’


यता बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुव्री गाउँपालिका–७ छेकम्पारको लामागाउँ–निले मार्गमा पर्ने बुढीगण्डकी सियार खोलामाथिको झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । नदीमा पानी बहाब वढेर भित्ता कटान गर्न थालेपछि पुल बगाउने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।


अविरल बर्षाका कारण गएको पहिरोले रामशाहघाटदेखि मनकामनासम्मको सडक अवरुद्ध बनेको छ । शहिदलखन गाउँपालिका वडा नम्वर ३ दोभान भन्ने स्थानमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार तीन ठाउँमा पहिरो गएको र खुलाउने प्रयास भइरहेको बताइएको छ । यता गोरखा नगरपालिकाको मझुवा नजिकैको सिमलगैरी भन्ने स्थानमा पनि पहिरो जादाँ यातायात एकतर्फी रुपमा मात्र संचालन भएको छ ।


उद्धार र राहतका लागी हाई अलर्टमा छौ : प्रजिअ


मनसुनजन्य विपदबाट हुनसक्ने क्षति न्यूनिकरणको पूर्व तयारीमा आफूहरु जुटिसकेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । सम्भावित जोखिम क्षेत्रहरुलाई मध्यनजर गर्दै विपद प्रतिकार्य योजना तयार गरिएको उनले जानकारी दिए । ‘विपद व्यवस्थापन समितिलाई संक्रिय बनाएका छौ,’ उनले भने, ‘प्रत्येक पालिकामा रहेको स्थानीय विपद व्यवस्थापन समितिसँग हामी निरन्तर समन्वय गर्दै सूचना आदान प्रदान गरिरहेका छौ ।’

उनका अनुसार जिल्लादेखि स्थानीय तहसम्म विपद सहायता कक्ष समेत स्थापना भइसकेको छ । उद्धार, राहत र पुनस्र्थापनाका लागि केही दिन अघि बैठक बसेर भूमिका बाँडफाँड समेत भइसकेको छ । जिल्लाका सबै सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको प्रजिअ दाहालले बताए । ‘उद्धारका सामाग्रीहरु पनि तत्कार प्रयोग गर्न सक्ने गरि तयारी अवस्थामा राखेका छौ, केही दिनअघि सबै सामग्रीको निरिक्षण गरेर परिक्षण समेत गरिसक्यौ,’ उनले भने । पहिरोका कारण सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागी जिल्लाका निर्माण व्यवसायीसँग पनि समन्वय भइरहेको उनले जानकारी दिए ।

‘निर्माण व्यवसायीका जेसिभी र अन्य उपकरणका चालकको नम्वर हामीले राखेका छौ, कतै पहिरो गएर सडक अवरुद्ध भयो भने उहाँहरुलाई भनेर तत्काल पहिरो हटाउँने काम गर्छाै,’ प्रजिअ दाहालले भने । केही दिनदेखि निरन्तर बर्षा भइरहेकाले बाढी तथा पहिरो जानसक्ने भन्दै सचेत रहन उनले आग्रह समेत गरेका छन् । शनिवार सार्वजनिक सूचना जारी गर्र्दै उनले विपदजन्य कुनै घटना भएमा नजिकैको प्रहरी कार्यालय, पालिका वा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको ९८४७६२७८९२ वा ९७४८४३०२०० मा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्