भीमसेन थापा सम्झाउँदै ‘जर्नेलीधारा’
प्रतीक्षा आले ।
गोरखा बजारको सतिपिपल, गैरीकुवा हुँदै ऐतिहासिक गोरखा दरबार जाने उकालो बाटो छ । गोरखा दरबार पुग्ने बेला आउने चोकबाट गोरखा दरबार जाने बाटो छाडेर चारधारे तिर तेर्सिएपछि भीमसेनपार्क जाने बाटो लागिन्छ । भीमसेनपार्क नपुग्दै आउने वल्लो थुम्का पिपलथोक भनेर चिनिन्छ । राष्ट्रिय विभूत भीमसेन थापाको जन्मस्थल यही हो भनेर इतिहासमा किटान गरिएको छ ।
सोही पिपलथोकभन्दा केही तल जंगलको एक छेउमा ठूलो क्षेत्रफलमा एउटा धारा छ, त्यसलाई जर्नेली धारा भनेर चिनिन्छ, जुन धारा नेपाली इतिहासका जाज्वल्यमान नक्षेत्र भीमसेनथापाले आफ्नो मुख्तियारी कार्यकालमा निर्माण गरेका थिए ।
नेपालको इतिहासमा प्रथम प्रधानमन्त्री बन्ने सुअवसर उनै भीमसेन थापाले पाएका थिए । सबैभन्दा लामो समय अर्थात ३१ बर्षसम्म अकण्टक प्रधानमन्त्री(मुख्तियार) पदमा रहेर राष्ट्रसेवा गर्ने अवसर पनि उनले नै पाएका थिए ।
गौरवमय इतिहास बोकेका भीमसेन थापाले गोरखा नगरपालिका वडा नं ४ पिपलथोकमा निर्माण गरेको यो धाराले अहिले पनि उनको झल्को दिइरहन्छ । आजभन्दा करिब दुईसयवर्ष अगाडि अर्थात विक्रम सम्बत १८८८ मा निर्माण गरेको यो धारा अहिले पनि गौरवमय इतिहास बोकेर निरन्तर छङ्छङाइरहेको छ ।
पृथ्वीनारायण शाहले सुरु गरेको राज्य एकीकरणलाई चरमोत्कर्षमा पु¥याउने भीमसेन थापाले नेपालको सैनिक सुधारका कामहरु गरे, सामाजिक, आर्थिक, राजनीतिक र भौतिक क्षेत्रमा व्यापक सुधार गरे । सोही क्रममा उनले आफूले बाल्यकालमा खाएको पानीलाई संरक्षण गर्न विराट धारा निर्माण गरे र आफैले जर्नेली धारा नामाकरण गरे । जुन धाराको पानी उनले बाल्यकालमा पिए जस्तै चिसो छ, सितल छ ।
‘जर्नेलीधारा’ निर्माण गरेपछि उनले त्यहाँ शिलालेख पनि स्थापना गरे, जसमा ‘स्वस्ति श्री शाके १७५३ सम्वत १८८८ साल मिति चैत शुदि ९ रोज २ मा श्री जनरल भीमसेन थापाले बनायाको श्री जनरल धारा हो शुभम्’ लेखिएको छ । थापाले आफु मुख्तियार जनरल रहँदा जन्मथलो पिपलथोकमा दिग्दिगन्तसम्म स्मरण हुने खालको केही काम गरुँ भनेर उक्त धाराको निर्माण गर्न लगाएको जानकारहरु बताउँछन छन् । ‘त्यस ठाउँमा पहिलेदेखि नै सानो पँधेँरोचाँहि थियो’ इतिहासका जानकार पुरातत्व विभागका नवराज अधिकारीले भने, ‘भीमसेन थापाले आफू पदमा रहँदा आफ्नो जन्मथलोमा केही गरुँ भनेर पधेँरोलाई व्यवस्थित पारेर धारा निर्माण गरेका हुन् ।’ धाराको नाम भीमसेन थापाको जनरल पदका आधारमा राखिएको उनले बताए । ‘जनरल पद त्यतिबेलाको प्रतिष्ठित पद हो त्येसैले धाराको नाम भीमसेन थापाको पदको आधारमा राखिएको हो’, उनले भने ।
भीमसेन थापाले आफ्नो ३१ वर्षे प्रधानमन्त्रीत्व कालमा नेपाल राज्यको निकै बिस्तार गरेका थिए । पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानलाई सबैभन्दा उत्कर्षमा पु¥याउने काम उनै भीमसेन थापाले गरेका थिए । उन नेपालको सिमाना पश्चिममा सतलज नदीदेखि पूर्वमा टिष्टा नदीसम्म पु¥याएका थिए ।
दरबारभित्रै विपक्षी शक्तिहरुको उदय हुँदै गएपछि थापाले आफ्नो जीवको अन्तिम दशकमा जन्मथलो सम्झिएर फर्केका थिए । त्यही बेला उनले जनरल धारा निर्माण गरे । त्यसको ठिक पाँच वर्षपछि वि.सं १८९४ मा उनको मुख्तियार जनरल पद खोसिएको थियो । रानी ललिता त्रिपुरा सुन्दरीको मृत्युपछि उनलाई पदबाट हटाइएको थियो ।
थापा आफु पदमुक्त भएका बेलामा फेरि गृहनगर फर्किएका थिए । त्यसबखत उनी बोर्लाङको समथर भूभागमा ठूलो क्षेत्रफल जग्गा किनेर बसेको उल्लेख छ । ‘उनले सत्तामा रहँदैमा आफ्नो जन्मथलो पिपलथोकमा उपयुक्त जग्गा नभेटेपछि बोर्लाङमा गएर जग्गा किनेका थिए’, इतिहासका जानकार नवराज अधिकारले भने, ‘त्यतिबेला उनले बोर्लाङका कुलानन्द जैसीसँग ९८ हजारमा खेत, पाखो, बारी सहितको जग्गा जमिन खरिद गरेका थिए ।’ पदमा रहँदा पनि अक्सर आफ्नो बोर्लाङस्थित घरमा आउने जाने गरेका थिए । सोही क्रममा उनले भीमवीरेश्वर मन्दिर निर्माण गरे । ‘बोर्लाङमा त उनको आर्थिकवर्षत जावत भैरहन्थ्यो । जन्मथलोमा पनि केही गर्नु पर्छ भनेर उनले जनरल धाराको निर्माण गरेका हुन्’ नवराज अधिकारीले भने, ‘पछि उनलाई फकाएर पुनः दरबार बोलाइएको र विपक्ष शक्तिहरुको अनेक षड्यन्त्र गरेपछि वि.सं १८९६ मा उनले जेलभित्रै सेरिएर आत्महत्या गरेका थिए ।’
जनरल धारा निर्माण भए यता समय–समयमा आर्थिकवर्षश्यकता अनुसार यसको पुननिर्माण कार्य हुँदै आएको छ । अहिले धाराको रेखदेख तथा मर्मतसम्भारको जिम्मा पुरातत्व विभागले लिएको छ । गतवर्ष करिब १५ लाख रुपैयाँ खर्चेर धाराको मर्मतसम्भारको काम सम्पन्न भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।