| शनिबार, माघ ५, २०८१

एसईईमा फेल भएकाहरुप्रति पालिका चिन्तित,
आँबुखैरेनीले आवासीय सुविधासहित पढाउँदै, बारपाक सुलीकोटले अनलाइनबाट पढाउँदै

तनहुँको आबुँखैरेनी गाउँपालिकाले एसईईको ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थीहरुलाई आवसीय सुविधा सहितको कक्षा संचालनमा ल्याएको छ । पालिकाले आफ्नै खर्चमा विद्यार्थीहरुलाई निशुल्क खाने, बस्ने सुविधा तथा शिक्षकको पारिश्रमिक सहित निशुल्क कक्षा संचालनमा ल्याएको हो । पूर्वी क्षेत्रमा रामशाह माविमा र पश्चिमी क्षेत्रका विद्यार्थीका लागि मित्रता माविमा आवसीय सुविधा सहितको पूर्वतयारी कक्षा संचालनमा ल्याएको पालिकाले जनाएको छ ।
‘एसईई परीक्षामा पालिकाबाट सहभागी भएका १० विद्यालयहरु मध्य दुई विद्यालयहरुको नतिजा शून्य छ, यस्तै ठूलो सङख्यामा विद्यार्थीहरुले ग्रेडवृद्धिको परीक्षा दिँदै छन्’, पालिकाका प्रवक्ता प्रेम बहादुर गुरुङले भने, ‘विद्यालयमा आवासीय सुविधा सहित कक्षा संचालन गर्दा प्रभावकारी हुन्छ भनेर पालिकाले पायक पर्ने २ विद्यालयमा आवसीय सुविधा सहितको कक्षा संचालनमा ल्याएको हो ।’ रामशाह माविमा १ सय २२ र मित्रता माविमा १ सय ७ गरी जम्मा २ सय २९ जना विद्यार्थीहरुलाई पालिकाले आवसीय सुविधा सहितको तयारी कक्षा प्रदान गरिहेको उनले बताए । ‘यसले पालिकालाई आर्थिक भार त पर्छ तर शिक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरेका हौँ’, उनले भने ।
यता, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका एसईई ग्रेडवृद्धिको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई अनलाइनबाट निशुल्क कक्षा संचालन सुरु गरेको छ । पालिकाले शैक्षिक बिकास तथा रोजगार फाउन्डेशनसँग समन्वय गरेर निशुल्क कक्षा संचालन गरेको हो । ‘एसईई परीक्षमा एनजी ल्याएका विद्यार्थीहरुलाई मध्यनजर गर्दै कक्षा संचालन गरिएको हो’, पालिकाको शिक्षा शाखा संयोजक भिमकुमार श्रेष्ठले भने, ‘अनलाइन कक्षामा सामाजिक, गणित, विज्ञान, अङग्रेजी र एच्छिक गणित विषयको पढाई हुन्छ ।’ कक्षा मंगलबारदेखि नै सुरु हुने उनले बताए । ‘कक्षामा जोडिन चाहने जोकोहीले पालिकाको फेसबुक पेजमा राखिदिएको जुम आइडि र पासवर्ड प्रयोग गरेर कक्षा लिन पाउछन्’, शिक्षा शाखा संयोजक श्रेष्ठले भने ।
यसअघि पनि पालिकाले सबै विद्यालयहरुलाई एसईईमा अनुतीर्ण भएका विद्यार्थीहरुलाई निशुल्क कक्षा संचालन गर्न निर्देशन दिएको थियो । सोही अनुरुप विद्यालयमा पढ्न आएका विद्यार्थीहरुले निशुल्क रुपमा तयारी कक्षा लिईरहेको पालिकाले जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा देशव्यापी रुपमा असन्तुष्ट देखिएको छ । देशभरबाट परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्य ४७.८३ प्रतिशत विद्यार्थी मात्र उतीर्ण भएका छन् । एसईईमा दुई वा सो भन्दा बढी विषयमा नन ग्रेड ल्याएर अनुतीर्ण भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउने नयाँ प्रावधान सरकारले ल्याएको छ । देशव्यापी रुपमा ठुलो सङ्ख्यामा विद्यार्थीहरु अनुतीर्ण भएपछि सरकारले यो कदम चालेको हो ।

प्रतिक्रिया दिनुहोस्