ठूलो घरमा बस्नेले सानो घरमा बस्नेलाई ढुंगा हान्नु हुन्न : मन्त्री देवकोटा
गण्डकी प्रदेशका उर्जा खानेपानी तथा सिँचाइमन्त्री फणिन्द्र देवकोटाले नेकपा माओवादीतर्फ व्याङ्ग्य गर्दै ठूलो घरमा बस्नेले सानो घरमा बस्नेलाई ढुंगा हान्न नहुने बताएका छन् ।
बुधबार गृहजिल्ला गोरखा आएका मन्त्री देवकोटाले आफ्नो पार्टी माओवादीबाट टुक्रिएर बनेको सानो पार्टी भएको भन्दै माओवादीले सानो पार्टी भनेर हेपिरहेको बताएका हुन् ।
‘माओवादी पार्टी फुटेर आज दर्जनौँ टुक्राटुक्रा बनेको छ । टुक्रिएपछि कसैको ठूलो घर बनेको छ, कसैको टहरो मात्र बनेको होला, कसैको ठिकैको होला, कसैले बारबेर मात्र गरेर बसेका होलान्’, नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले भने, ‘अहिले हेर्दा नेकपा माओवादी पार्टी ठूलो घरमा बसेको छ ।
ठूलो घरमा बसेकाले सानो घरमा बसेकालाई ढुंगा हान्नु राम्रो भएन । त्यसको नतिजा अहिले राष्ट्रिय राजनीतिमा पनि देखियो, गण्डकी प्रदेशमा पनि देखिएको छ । त्यसको संकेत मैले केन्द्रीय नेताहरुमा गराएको थिएँ, तर उहाँहरुले सामान्य रुपमा लिनु भएछ । त्यसैले प्रदेशमा आज यो अबस्था भएको छ ।’ अहिलेको बदलिँदो राष्ट्रिय राजनीतिक परिवेशले आफ्नो पद तथा जिम्मेवारीमा कुनै दुस्प्रभाव नपार्ने उनले स्पष्ट पारे ।
‘हिँजो चुनावमा हँसिया हथौडा भनेको रुख हो, रुख भनेको हँसिया हथौडा हो भन्दै हिडेको हो । अघिल्लो चुनावमा पनि कांग्रेसको माझमा आँखामा भोट माग्दै हिँडेको हो ।
त्यसैले म राजनीतिक रुपमा कांग्रेससँग धेरै टाढा छैन’, उनले भने, ‘यो चुनावमा पनि एकजना प्रधानमन्त्री बन्ने हो, एकजना मुख्यमन्त्री बन्ने हो, एकजना मन्त्री बन्ने हो भनेर एउटै मञ्चबाट भोट माग्दै हिँडेको हो । त्यसैले म बदलिएको छैन । जुन परिस्थितिमा मैले निर्णय गरेँ, त्यो एकदम ठिक ठाउँमा छ । त्यसैले अहिलेको केन्द्रीय राजनीतिको प्रभावले मलाई कुनै फरक पर्दैन ।
हामी एकै ठाउँमा छौँ । मन्त्रालय कुन कुन हुन्छ, त्यो भन्न सकिँदैन, तर यो परिवर्तनले केही फरक पर्दैन ।’ केन्द्रमा राजनीतिक घटना उथलपुथल हुने वित्तिकै प्रदेशमा पनि त्यसको प्रभाव पर्दा संघीयता कमजोर हुने उनको भनाइ छ । ‘यसले संघीयताको धरातल कति कमजोर रहेछ भन्ने जनाउँछ साथै, यति कमजोर धरातलबाट के विकास गर्न सकिएला भन्ने प्रश्न जन्माउँछ’, उनले भने ।
राजनीतिक उथलपुथलले आफू बजेट निर्माणमा सहभागी हुन नपाएकोमा दुख व्यक्त गर्दै उनले तैपनि जिम्मेवारी सम्हाल्न तत्पर रहेको बताए । ‘म अभागी भनुँ कि, भाग्यमानी भन्नु, मेरो परिस्थिति देखिहाल्नु भएको थियो । नीति तथा कार्यक्रममा पनि सहभागी हुन पाइन । बजेट निर्माणमा पनि सहभागी हुन पाइन ।
बजेट आयो, बजेटमा छलफल गर्न पनि पाइन’, उनले भने, ‘तैपनि जेजस्तो बजेट कार्यक्रम आयो, त्यसको जिम्मेवारी लिएको छु । समस्या छन् । अघिल्लो बर्ष क्रमागत बजेटमा समावेश भएका योजनाहरुमा बजेट विनियोजन गर्न छुटेर योजनाहरु अलपत्र परेका रहेछन् । अब क्रमागत योजनालाई सम्पन्न गर्ने र धेरथोर योजना थप गर्ने तयारीमा छु ।’
बिगत बर्षमा ६०, ७० लाखको काम भएको तर स्रोत सुनिश्चित नभएका कारण भुक्तानी नभएको अबस्थाले जटिलता उत्पन्न भएको भन्दै उनले आफ्नो कार्यकालमा त्यस्ता योजनालाई सम्पन्न गर्नेतर्फ जोड दिने बताए । ‘राज्यको लगानी भइसकेको योजना छोड्न पनि मिलेन । च्यालेन्ज छ, समाधान चाहियो ।
मुख्यतः क्रमागत योजना कुन कुन छ, त्यसको तथ्यांक मागेको छु’, उनले भने, ‘त्यस्ता योजना सम्पन्न गर्दै नयाँ पनि बढाउँदै जाने योजना बनाएको छु ।’