डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवलकार, आजदेखि ५० दिन बन्द रहने
नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ ।
स्तरउन्नतिका लागि उपकरणसहित यसको निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट प्राविधिकहरु आइसकेका छन् । उनीहरुले आउँदो आज(सोमबार) बाट स्तरोन्नतिको काम गर्नेछन् । स्तरोन्नति गर्नका लागि ५० दिन लाग्ने र त्यो अवधिभरि मनकामना केवलकार बन्द रहने कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले जानकारीदिए ।
२६ वर्ष अगाडि जडित प्रविधिलाई प्रतिस्थापन गरेर अहिलेको विश्वमा प्रचलित डिजिटल प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको उनले बताए । ‘२६ वर्ष अगाडि जडान गरिएको यो प्रविधिमा समयानुकूल धेरै विकास भइसकेको छ । त्यसैले निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष केवुलकारको स्तरोन्नति गर्न लागिएको हो’, उनले भने, ‘अष्ट्रियाको विश्व नंबर १ कम्पनी डोपलमायरबाट निर्माण गरिएको यो केबुलकार बिगत २५ बर्षदेखि कुनै समस्या उत्पन्न नभै संचालनमा भइरहेको छ ।’
एनालग प्रविधिमा सञ्चालन भइरहेको यस केवलकारको प्रविधि अव डिजिटल प्रविधिमा रुपान्तर हुने उनले बताए । पुरानो मोटर सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ र यसको लम्बाई करीव ३२०० मिटरको हुनेछ । त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।
केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकिएको छ । डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने केवलकार सञ्चालकको भनाइ छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ ।
डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायर अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ ।