
‘वनको बाँदर बनमै’ भन्ने नीति कार्यान्वयनका लागि वृक्षारोपण सुरु
पालुङटार नगरपालिका भित्रका सामुदायिक वन क्षेत्रमा फलफुलका विरुवा रोप्न सुरु गरिएको छ । ‘वनको बाँदर बनमै’ भन्ने नगरको नीति अनुसार शनिवारबाट विरुवा रोप्न सुरु गरिएको नगर प्रमुख विवश चिन्तनले बताए । नगरपालिकाले चालु आवको नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी बिकास तर्फ ‘बनको बाँदर बनैमा’ भन्ने नाराका साथ बाँदर, दुम्सी, मृग लगायतका वन्यजन्तुबाट बालीनालीलाई संरक्षण गर्न आवश्यक प्राकृतिक उपाय अवलम्वन गर्ने कुरालाई समावेश गरेको थियो ।
बाँदरको प्रकोप बढी भएको क्षेत्रमा बाँदरले नष्ट नगर्ने खुर्सानी, अदुवा, बेसार, जौ, टिमुर, कटहर, कागती जस्ता वालीको खेति गर्न लागी प्रोत्साहन गर्ने योजना सहित जंगलमा फलफूलका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा संचालन गर्ने पालिकाले जनाएको थियो । सोही अनुरुप वृक्षारोपण सुरु गरिएको मेयर चिन्तनले बताए ।
उनका अनुसार शनिवार मात्रै बिभिन्न सामुदायिक वनमा गरि चार हजार भन्दा बढी विरुवा रोपिएको छ । बर, पिपल, अम्वा, भुइँकटहर, रुख कटहर, केरा, किम्वु लगायतका विरुवा रोपिएको उनले जानकारी दिए । ‘सबै सामुदायिक वन र टोल बिकास संस्थाका अध्यक्षहरुलाई असारमा बोलाएर अभिमुखिकरण गराउँदै आजदेखि विरुवा रोप्न सुरु गर्ने भनेका थियौ,’ चिन्तनले भने, ‘एक घरबाट कम्तिमा दुई वटा बिरुवा ल्याउनुपर्ने अनिवार्य पनि गरेका थियौ ।’
उनीहरुले ल्याएको विरुवा सामुदायिक वनको खाली क्षेत्र, खोल्साखोल्सी किनार लगायतका ठाउँमा वृक्षारोपण गरिएको उनले जानकारी दिए । क्रमश सबै सामुदायिक वनमा वृक्षारोपण गर्दै जाने बताइएको छ ।