
जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियती वन समूहहरु पुरस्कृत
जिल्लाका उत्कृष्ट सामुदायिक तथा कबुलियती वन समूहहरु पुरस्कृत भएका छन् । आर्थिक बर्ष २०८०/८१ मा गरेको कार्यसम्पादनको आधारमा डिभिजन वन कार्यालयले उनीहरुलाई पुरस्कृत गरेको हो । सामुदायिक वन तर्फ भीमसेन थापा गाउँपालिका वडा नम्वर ६ को थाकलडाँडा सामुदायिक वन उपभोक्ता समूह पहिलो बनेको छ ।
कुल ४५ अंकमा उक्त समूहले ४२ अंक प्राप्त गरेको कार्यालयले जनाएको छ । ४१ अंक प्राप्त गर्दै गोरखा नगरपालिका वडा नम्वर १३ स्थित लक्ष्मी महिला सामुदायिक वन उपभोक्त समूह दोस्रो बनेको छ । पालुङटार नगरपालिका वडा नम्वर ७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूह तेस्रो बनेको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । उनका अनुसार उक्त वन समूहले ४० अंक प्राप्त गरेको छ ।
पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमश ७ हजार ५ सय, ५ हजार ५ सय र ३ हजार ५ सय नगद पुरस्कारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । कबुलियती वनतर्फ गण्डकी गाउँपालिका वडा नम्वर १ स्थित पिपलडाँडा कबुलियती वन समूह पहिलो भएको छ । कुल ३५ अंकमा उक्त समूहले ३४ अंक प्राप्त गरेको कार्यालयका सूचना अधिकारी पौडेलले बताए ।
उनका अनुसार भीमसेन थापा गाउँपालिका वडा नम्वर १ मसेल स्थित बिमिरे खाल्डो (ग) कबुलियती वन समूह दोस्रो र अजिरकोट गाउँपालिका वडा नम्वर ४ स्थित आरनडाँडा कबुलियती वन समूह तेस्रो बनेका छन् । दोस्रो हुने वन समूहले ३२ र तेस्रो हुनेले ३१ अंक प्राप्त गरेका थिए । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ७ हजार ५ सय, ५ हजार ५ सय, र ३ हजार ५ सय नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
सोमवार कार्यालयको बार्षिक समिक्षा कार्यक्रमको अवसर पारेर उनीहरुलाई पुरस्कृत गरिएको हो । प्रदेशको गत आवको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत सामुदायिक र कबुलियती तर्फ तीन/तीन वटा वन समूहलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ । विभिन्न सूचांकलाई आधार मानेर अंक प्रदान गरिएको बताइएको छ । कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो ।