| सोमवार, चैत्र ३, २०८१

पालुङटारको कोटगढीमा पार्क निर्माणका लागि आएको १५ लाख रकम फ्रिज

पालुङटार नगरपालिका–१० कोटगढीमा पार्क निर्माणका लागि आएको १५ लाख रकम फिर्ता गएको छ । योजना कार्यान्वयन हुन नसकेपछि गत आर्थिक बर्ष २०८०/८१ मा डिभिजन वन कार्यालयमा आएको उक्त रकम फिर्ता गएको हो ।
योजनाको उपयोगिता नहेरी सिँधै पहुँचका आधारमा योजना ल्याएकाले कार्यान्वयन हुन नसकेको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

‘कोटगढी पार्क निर्माणका लागी संघबाटै तोकेर कार्यक्रम आएको थियो’, उनले भने, ‘तर, त्यहाँ ठाउँ पनि उपयुक्त नभएको र जग्गा पनि व्यक्तिको रहेकाले काम गर्न सकेनौ ।’ सो स्थानमा पार्क निर्माण गर्नु उचित नभएकाले आएको बजेट फ्रिज भएको उनले बताए । ‘वन कार्यालयले व्यक्तिको निजी जग्गामा काम गर्न मिल्दैन त्यसैले काम नभएको हो’, उनले भने । उपयोगिता र दिगोपना नहेरी पहुँचमा आधारमा कार्यक्रम ल्याउने प्रवृतिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

यता सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन अन्तरगतको काठदाउरा उत्पादन कार्यक्रमका लागि आएको दश लाख रकम पनि फ्रिज भएको कार्यालयले जनाएको छ । कार्यक्रमको नीति संघमा आएपनि प्रदेशले कार्यविधि नबनाएका कारण योजना कार्यान्वयन हुन नसकेको डिभिजनल वन अधिकृत शाण्डिल्यले बताए ।

‘प्रदेशमा कार्यविधि नबनेकाले गत आव कार्यक्रम पुरा हुन सकेन। यो वर्ष भने कार्यक्रम संचालन गर्नेछौँ’, उनले भने । गत आव कार्यालको नाममा २२ लाख २५ हजार रकम बेरुजु देखिएको छ । जसमध्य १८ लाख २२ हजार नियमित गर्नुपर्ने र ४ लाख असुल गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ मा शहरी वन विकास कार्यक्रम अन्तरगत २७ लाख बराबरको ६ वटा योजना परेको उनले जानकारी दिए ।

गोरखा नगरपालिका वडा नम्वर ८ मा रानीवन हरित वाल उद्यान निर्माण, पालुङटारस्थित अमरज्योती जनता माविमा हरित उद्यान निर्माण, पालुङटार नगरपालिका वडा नम्वर ४ मा बाह्रपिर्के हरित वाल उद्यान निर्माण, पानपा–८ मा हरित शहीद पार्क निर्माण, गोनपा–१३ मा १० वटा ऐतिहासिक चौतारो संरक्षण र गोनपा–८ स्थित पत्रकार महासंघ गोरखा शाखाको भवन परिसरमा एतिहासिक चौतारो संरक्षणका लागी बजेट बिनियोजन भएको शाण्डिल्यले बताए । यी योजनाहरुको पनि उपयोगिता हेरेर वन कार्यलयको रोहबरमा कार्यक्रम संचालन गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्