| शनिबार, माघ ५, २०८१

पालुङटारको बहुप्राविधिक शिक्षालय घटना : प्रशिक्षक रानाभाट जागिरबाट निष्काशन

बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक पटक फेल गराउने पालुङटार नगरपालिकाको गोरखा बुहप्राविधिक शिक्षालयका प्रशिक्षक आशिष रानाभाटलाई तत्कालका लागि जागिरबाट निष्काशन गरिएको छ । घटनाबारे छानविन प्रतिवेदन नआएसम्म उनलाई जागिरबाट निष्काशन गर्ने निर्णय गरिएको बताइएको छ ।

मंगलवार बसेको प्रमुख जिल्ला अधिकारी संयोजकत्वको शिक्षालय संचालक समितिको बैठकले छानविन प्रतिवेदन नआएसम्मका लागि रानाभाटलाई शिक्षालयको सबै जिम्मेवारीबाट हटाउन क्याम्पस व्यवस्थापन समितिलाई निर्देशन दिएको हो । ‘माथिबाट आएको सिटिइभिटीको टोलि र जिल्ला प्रशासन कार्यालय दुवैले यस घटनाको छानविन गरिरहेको छ,’ प्रजिअ भोला दाहालले भने, ‘प्रतिवेदन नआउन्जेल प्रशिक्षक रानाभाटलाई शिक्षालयको सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेका हौ ।’ छानविन प्रतिवेदन आएपछि सोही अनुसार कारवाही प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

शिक्षालयमा अध्ययनरत बिद्यार्थी श्यामहरी संग्रौलामाथि बदनियत राखी पटक पटक प्रयोगात्मक परिक्षामा फेल गराएको भन्दै प्रशिक्षक रानाभाटमाथि केही दिन अघि बिद्यार्थी समूहले शिक्षालय परिसरमा अभद्र व्यवहार गरेका थिए । रानाभाटलाई कारवाहीको माग गर्दै उनीहरुले शिक्षालयमा तालावन्दी समेत गरेका छन् । प्रशिक्षक रानाभाटले दिएको जाहेरीको आधारमा केही बिद्यार्थी बिरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ ।

सोही बिरोधमा मंगलवार नेपाल बिद्यार्थी संघले बिरोध प्रदर्शन गरेको छ । बिद्यार्थीबिरुद्धको मुद्दा फिर्ता र शिक्षकलाई कारवाहीको माग गर्दै उनीहरुले हरमटारीचोकमा बिरोध प्रदर्शन गरेका हुन् । व्यक्तिगत इगो राखि बिद्यार्थीलाई प्रयोगात्मक परीक्षामा पटक पटक फेला गराउने शिक्षकलाई बिभागिय कारवाही गर्नुको सट्टा उल्टै बिद्यार्थीमाथि अभद्र व्यवहारको मुद्वा दर्ता गरिएको भन्दै नेविसंघले बिरोध जनाएको हो ।

बिद्यार्थीमाथि बदनियत राखी पटक पटक प्रयोगात्मक परिक्षामा फेल गराउने शिक्षक रानाभाटलाई कारवाही हुनुपर्ने समेत उनीहरुको माग छ । माग पूरा नभए चरणवद्ध आन्दोलन गर्ने नेविसंघका जिल्ला अध्यक्ष शिवहरी तिमल्सिनाले बताए । ‘आज बिरोध सभा ग¥यौ, भोलि शिक्षकको फोटो सार्वजनिक गर्छाै,’ उनले भने, ‘माग सम्बोधन भएन भने राँके जुलुस र जिल्लाभरका शैक्षिक संस्थाहरु पनि बन्द गर्छाै ।’

प्रतिक्रिया दिनुहोस्