आफ्नै सर्टिफिकेट लिन २० हजार रुपैयाँ जरिबाना !
प्रतिक्षा आलेमगर ।
गोरखा सदरमुकामका मनिष बराल(नाम परिवर्तित) कक्षा १२ को परिक्षा दिएर हरमटारी स्थित इमेज इन्स्टिच्युट प्रालिमा जापानिज भाषा सिक्न भर्ना हुन्छन् । जेठमा भर्ना भएर पढेका उनले भाषा सिकेबापत लाग्ने रकम २० हजार पनि तिरिसक्छन् ।
साउनको मध्यतिर कक्षा १२ को नतिजा पनि आउँछ । अब उनी राजधानी काठमाडौँ गएर कलेज पढ्ने तयारी गर्छन् तर, सो इन्स्टिच्युटले शैक्षिक प्रमाणपत्रलगायतका डकुमेन्टहरु नदिँदा उनी अन्योलमा पर्छन् ।
‘भर्ना गर्दा एसईईको सक्कली डकुमेन्ट नै राख्नु पर्छ भन्नुभयो, सोही अनुसार बुझाएँ पनि’, उनले भने, ‘मैले भर्ना हुँदादेखि नै १२ को रिजल्ट नआइन्जेल मात्र पढ्छु भन्दै आएको थिएँ । रिजल्ट आएपछि डकुमेन्ट फिर्ता माग्दा जरिबानास्वरुप थप २० हजार मागेको छ ।’ पढ्न थालेको झन्डै २ महिनापछि इन्स्टिच्युटको मान्छेले आफूहरुलाई एकाएक सम्झौँता पत्रमा हस्ताक्षर गर्न लगाएको उनी बताउँछन् ।
‘पढाई सुरु भएको एक महिनापछि परिक्षा भयो, परिक्षा दिन भने चितवन जानुपर्ने थियो’, उनले भने, ‘उताबाट फर्केपछि २–३ जना साथीहरुले पढाई छाड्नु भयो, म लगायत अरुले पनि कक्षा छाड्छ भनेर बीचमा कक्षा छाडे डकुमेन्ट भिक्न जरिबानास्वरुप २० हजार तिर्नुपर्ने भनेर सम्झौँता गराइयो ।’ यसरी इन्स्टिच्युटले बीचमा आएर एकाएक सम्झौँता गराएको र आफ्नै कागजात माग्दा पनि नदिएको गुनासो उनको छ । ‘सुरुमा केही भनेनन्, २–३ जना साथीहरुले डकुमेन्ट भिकेर गाएपछि हाम्रो पालोमा एकाएक यस्तो नियम लगाएको हो’, उनले भने ।
अहिले सो इन्स्टिच्युमा नपढ्ने भनेर एसईईको मार्कसिट, सर्टिफिकेट माग्दा २० हजार दिए मात्र लैजान पाउँछ भनेका उनले बताए । गोरखा नगरपालिका ६ हरमटारी स्थित उक्त संस्थाले अवैधानिक रुपमा विद्यार्थीहरुसँग सम्झौता गर्ने गरेको छ । संस्थाले त्यहाँ पढ्न आउने विद्यार्थीहरुको चारित्रिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र लगायत डकुमेन्टको सक्कल कागजात राख्नुपर्ने प्रावधान बनाएको हो । ६ महिने जापनिज कोर्सको बीचमा विद्यार्थीहरुलाई कागजात आवश्यक परी फिर्ता मागे २० हजार असुल गर्नुपर्ने नियम उक्त संस्थाको छ ।
यसरी विद्यार्थीहरुसँग अनाधिकृत रुपमा सम्भौता गरेको र रकम असुल गरेको भन्दै नेपाल विद्यार्थी संघ गोरखा र अनेरास्ववियु गोरखाले संयुक्त रुपमा विज्ञप्ती निकाली विरोध जनाएको छ । विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र बन्धक बनाई गैरकानुनी रुपमा कागज गराई मोटो रकम असुली गरेको भन्दै उनीहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरेको हुने । कानुन बिपरित विद्यार्थीहरुको शैक्षिक कागजात बन्धक बनाई रकम असुल्ने धन्दा बन्द गर्नुपर्ने विज्ञप्तीमा भनिएको छ । जिल्लामा संचालित यस्ता इन्स्टिच्युटहरु नियम अनुसार चलेनचलेको बारे छानबीन गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने माग उनीहरुको छ ।