| बुधबार, अशोज २३, २०८१

प्रजिअ दाहालको मुक्तक संग्रह सार्वजनिक

खानेहरुका लागि भोज नहोस् लोकतन्त्र
लुट्नेहरुका लागि मोज नहोस् लोकतन्त्र
खान र लुट्न पनि नसक्ने जनताका लागि

निर्विवाद बोझ नहोस् लोकतन्त्र …
यी मुक्तक हुन् मुक्तककार भोला धरातलका । भोला धरातल अर्थात भोला दाहाल गोरखाका प्रमुख जिल्ला अधिकारी हुन् । साहित्यमा अपार मोह भएका भोला धरातलका यी र यस्तै दुईसयभन्दा धेरै मार्मिक मुक्तकहरुले भरिएको मुक्तक संग्रह ‘आँखाहरु पोखिएका बेला’ नयाँ शैलीमा भर्खरै सार्वजनिक भएको छ ।

मुक्तककार धरातलले आफ्नो मुक्तक संग्रह आँखाहरु पोखिएको बेला ऐतिहासिक गोरखा दरबार आसपासका अनुपम प्राकृतिक श्रृङ्खलामा भिडियोग्राफीमार्फत सार्वजनिक गरेका छन् । दरबारका क्षेत्रका विभिन्न दृश्यहरुलाई पृष्ठभूमि बनाएर भिडियो छायांकन गरी मुक्तककार स्वयंले कृति सार्वजनिक गरेका हुन् ।
घामपानीले बनाएको इन्द्रेणी हौ तिमी,
मनमोहक हिमश्रृङ्खलाकी श्रेणी हौ तिमी,
कहिल्यै कसैसंग तुलना नहुने अलग्गै मेरी,
विश्वास, प्रेम र समर्पणकी त्रिवेणी हौ तिमी ।

मुक्तक संग्रह सार्वजनिक गर्दै उनले भनेका छन्, ‘गोरखा नेपाल एकीकरणको आरम्भ विन्दू, ऐतिहासिक भूमि, वीरताको परिचय, गौरवको अनुभूति । यस्तो ऐतिहासिक भूमिमा आफ्नो मुक्तकसंग्रह सार्वजनिक गर्न पाउँदा म अत्यन्त गौरवान्वित भएको छु । कृति प्रकाशन गरिदिने आवरण प्रकाशन र आदरणीय रमेश पौडेल सर धन्यवादका पात्र हुनुहुन्छ ।
मनले तस्वीर कोर्दै थियो आँखाहरु पोखिएका बेला
सम्बन्ध यो जोड्दै थियो आँखाहरु पोखिएका बेला
अनगिन्ती मान्छेहरुको भीडमा भएर पनि
उसैलाई खोज्दै थियो आँखाहरु पोखिएका बेला

उनको मुक्तक संग्रहमा यस्तै यस्तै २२४ मुक्तकहरु समेटिएका छन् । समसामयिक सामाजिक, आर्थिक, साजनीतिक विषयबस्तु, प्रेम प्रणयका भावना र मुलुकको यथार्थ अबस्थाको चित्रण गरिएका मुक्तक यस संग्रहमा समेटिएका छन् ।
सम्बन्धहरुको सुनौलो आयाम गज्जव छ,
यस्तो लाग्छ हरेक दिन उत्सव छ,
जहाँजहाँ घाम, त्यहाँत्यहाँ छायाँ भएजस्तै
यसरी बस्यौ कि हृदयमा छुट्टिन असम्भव छ ।

यस्ता मुक्तक रच्ने प्रमुख जिल्ला अधिकारी दाहालको सिर्जनशिलता देखेर द्रवित हुँदै प्रकाशक रमेश पौडेलले भनेका छन्, ‘देशका सबै सिडिओसाबहरु यस्तै भैदिए … ?

प्रतिक्रिया दिनुहोस्