नेपाल एयरलाइन्स नीजि क्षेत्रलाई भाडामा दिन लबिङ गर्छु : टान अध्यक्ष पाण्डे
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवनिर्वाचित अध्यक्ष सागर पाण्डेले नेपालमा विदेशी पर्यटकलाई सहज रुपमा आउनेजाने वातावरण बनाउन नेपाल एयरलाइन्सको सेवा सुधार गर्नुपर्ने बताएका छन् ।
मंगलबार सम्पन्न भएको टानको ४६ औँ साधारण सभा तथा अधिवेशनले आगामि दुईबर्षे कार्यकालका लागि पाण्डेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । टानको नेतृत्व सम्हाल्दै पाण्डेले नेपाल एयरलाइन्सको सेवा सुधारका लागि व्यवस्थापन सुध्रिनु पर्ने भन्दै यसका लागि आफूले लबिङ गर्ने बताए । ‘मेरो विचारमा नेपालमा विदेशी पर्यटक आउनका लागि नेपाल एयरलाइन्समा व्यापक सुधार गर्नु जरुरी छ’, उनले भने, ‘त्यसका लागि व्यवस्थापन फेरबदल हुनु पर्छ ।
अथवा सबैभन्दा राम्रो बिकल्प नेपाल एयरलाइन्सको ब्यबस्थापन गर्ने जिम्मा कम्तीमा १५ बर्षका लागि नीजि क्षेत्र वा विदेशी कम्पनीलाई दिनु पर्छ । केही बर्ष उनीहरुले राजनीतिक हस्ताक्षेप मुक्त बनाएर सिस्टममा चलाएपछि सरकारले लिँदा एउटा ट्रयाकमा अघि बढ्छ ।’ राजनीतिक हस्ताक्षेपका कारण नेपाल वायुसेवा निगम र नेपाल एयरलाइन्स ध्वस्त हुदै गएकोप्रति उनको चिन्ता छ । नेपाल एयरलाइन्सकोप लागि टान, हान, नाटाले संयुक्त रुपमा पहल गर्नु पर्ने भन्दै उनले सो अभियानको नेतृत्व गर्न आफू तत्पर रहेको बताएका छन् ।
साथै उनले जताततै पर्यटन पदमार्ग नष्ट हुदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै वैकल्पिक पदमार्ग निर्माणमा जोड दिनुपर्ने तर्क गरेका छन् । अन्नपूर्ण पर्यटन पदमार्ग पनि मोटरबाटोका कारण नासिएको, मनास्लु पदमार्गको पनि धेरै माथिसम्म मोटरबाटो पुगेका कारण पर्यटकका लागि अलग्गै पदमार्ग निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् ।