समयमा उद्धार हुन नसकेपछि म¥यो चितुवा
समयमा उचित उद्धार हुन नसकेपछि गोरखामा एक बयस्क चितुवा मरेको छ ।
गोरखा नगरपालिका–१० बिरेन्चोकमा बुधवार बिहान घाइते अवस्थामा फेला परेको उक्त चितुवाको उद्धार हुन नसकेपछि बिहिबार बिहान मरेको वन डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयबाट खटिएका टोलीले बुधबार दिनभर प्रयास गरेपनि चितुवाको उद्धार गर्न नसकेको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । आवश्यक स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण समयमा उद्धार हुन नसकेको उनले जानकारी दिए ।
‘डार्ट गरी वेहोस पारेर उद्धार गर्नुपर्छ तर हामीसँग स्रोत साधन र जनशक्ति थिएन,’ उनले भने, ‘पोखराबाट प्राविधिक टोली बोलाएका थियौँ, बिहीबार बिहान प्राविधिकहरु बाटोमा आउँदै गर्दा चितु्वाको मृत्यु भयो ।’
मृत चितुवालाई कार्यालयमा ल्याएर व्यवस्थापन गरिएको उनले जानकारी दिए । भेटेरेनरी अस्पतालमार्फत मृत चितुवाको परिक्षण गराउँदा आन्तरिक चोटपटकका कारण मृत्यु भएको खुल्न आएको बताइएको छ ।