चेपाङ समुदायले धुमधामले मनाए छोनाम
चेपाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व न्वागी(छोनाम) भव्यताका साथ मनाएका छन् । चेपाङहरुको बाक्लो बसोबास रहेको गण्डकी गाउँपालिका ६ तोमनडाँडामा शनिबा विविध कार्यक्रम गरी छोनाम मनाइएको हो ।
अल्पसंख्यक अति सीमान्तकृत चेपाङ समुदायले हरेक बर्षको भदौ २२ गते सामुहिक रुपमा छोनाम मनाउँदै आएका छन् । राष्ट्रिय मान्यता पाएको यो दिन नेपाल चेपाङ संघ केन्द्रीय समितिले यस बर्ष गोरखाको तोमनडाँडामा एक कार्यक्रम आयोजना गरी मनाएका हुन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष चेपाङले चेपाङ समुदायको बसोबास रहेको यस प्रदेशमा सार्वजनिक विदा दिन गण्डकी प्रदेश सरकारसंग आग्रह गरेका थिए ।
गण्डकी प्रदेशको गोरखा, लम्जुङ, तनहूँ र नवलपुर जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ । २०७८ सालको जनगणना अनुसार अल्पसंख्यक अति सीमान्तकृत चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६८ रहेको छ ।
मकै, घैयाधान, गाभा पिडालु, केरा, निबुवा लगायतका पाखेबाली प्रकति देवता, कुलदेवता, पितृलाई अर्पण गरेर मात्र आफुले खान सुरु गर्न यो पर्व मनाउने परम्परा रहेको चेपाङको साँस्कृतिक पर्व छोनामको अध्ययन गरिरहेका अजयकुमार चेपाङले जानकारी दिए ।
पितृ, प्रकृति र मानव जीवनशैलीसँग सम्बन्धित रहेको यो पर्वलाई नेपाल सरकारले २०६३ देखि हरेक बर्षको भदौ २२ गते मनाउन मान्यता दिएको छ । पान्देले दिन बार जुराएर भदौ महिनाको जुनसुकै पाँच दिन यो पर्व मनाउने नेपाल चेपाङ संघका वरिष्ठ उपाध्यक्ष बिल चेपाङले बताए । अरु दिनमा अलग अलग मनाए पनि २२ गतेलाई संस्थागत रुपमा मनाउन मान्यता पाएको उनले बताए ।
संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङको अध्यक्षता, गण्डकी गाउँपालिकाका प्रमुख दीपक तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहिद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगर, नेपाल चेपाङ संघका महासचिव सन्तबहादुर चेपाङ, पत्रकार भीमलाल श्रेष्ठ, चेपाङ संघका जिल्ला अध्यक्ष भीमलाल चेपाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सहभागी सो कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर चितवन, तनहूँ, लमजुङ जिल्लाका चेपाङ समुदायको सहभागिता रहेको थियो ।
के हो छोनाम, यो कसरी मनाइन्छ ?
‘छोनाम’ चेपाङ समुदायको भाषिक शव्द हो । यसको नेपाली भाषामा ‘न्वागी’ हो । न्वागी अर्थात नयाँ अन्नबाली भित्र्याएपछि उपभोग गर्नुअघि प्राकृतिक देउदेउता, पितृ र कुललाई चढाउने परम्परा हो ।
छोनामकै विषयमा एमफिल पिएचडी शोधपत्र तयार गरिरहेका अजयकुमार चेपाङका अनुसार अधिकांश चेपाङ समुदायले भदौ महिनामा छोनाम मनाउँछन् । अरु महिनामा मनाउनेहरु पनि छन्, तर नगण्य ।
उनी भन्छन्, ‘पान्दे(झाँक्री)ले दिन जुराउँछन् । त्यस दिन आफ्नो खलकको पान्दे(झाँक्री)ले फलाकेर घैया धानको भातको जाँड राख्छ अनि केराको घरी गबाउन हाल्छ । अनि एउटा कुखुराको भाले लिएर बर्षभरि लगाएको नयाँ अन्नबाली र नयाँ फलफूल पाँच दिनपछि चढाउन आउँछु है भनेर आफूले परापूर्व कालदेखि मानिआएको देउदेउता, पितृहरुको नाममा फलाक्छ । यसलाई छोनामको निम्तो दिएको भनिन्छ । अब त्यो घरको न्वागी सुरु भयो । दोस्रो दिनदेखि न्वागीका लागि चाहिने सरसामान जुटाउने प्रक्रिया सुरु गर्छन् । ढ्याङ्ग्रो बिग्रिए नबिग्रिको हेर्ने मिलाउने गर्छन् । कुल कुटुम्ब बोलाउने काम गर्छन् । पाँचौँ दिनको दिनमा सबै सरसामान, सबै कुल कुटुम्ब जम्मा भएर धुमधामले छोनाम मनाउने गरिन्छ ।’
त्यस दिन रातभरि पान्दे(झाँक्री)ले फलाक्ने, पूजाआजा गर्ने, नयाँ अन्नबाली, फलफूल बाली, कुखुराको भाले आदि चढाउने गर्छन् । नयाँ पुस्तालाई पान्दे बनाउनु पर्ने भएमा पनि सोही राती नयाँ पान्दे बनाउने उनले बताए । यसरी पूजाआजा गरेर र मिठामिठा खानेकुरा खाएर, खुवाएर यो पर्व मनाउने उनले बताए ।