| बुधबार, अशोज २३, २०८१

ट्याक्सी भाडामा मनोमानी, आफूखुशी भाडा बढाउँदै प्रालि, ठगिदैँ यात्रु, नियमक निकाय मौन

जिल्ला सदरमुकामको हरमटारीचोकदेखि बसपार्कसम्मको दुरी मुस्किलले एक किलोमिटर होला । तर त्यही दुरी ट्याक्सीमा यात्रा गर्दा कति रुपैया तिर्नुपर्ला ? यसको जवाफ केहीदिन अघि हरमटारीबाट ट्याक्सी चढेर बसपार्क पुगेका एक यात्रीले दिए, ‘दुई सय रुपैयाँ ।’
यता बिरेन्चोकबाट ट्याक्सी चढेर छेपेटार जाँदा १५ सय रुपैया भाडा तिर्नुपरेको अर्की एक यात्रुले सुनाइन् । दुरीका हिसावले मुस्किलले सात किलोमिटर भएपनि भाडा निकै महँगो भएको उनले गुनासो गरिन् । यी केही उदाहरण मात्र हुन् । जिल्लामा चल्ने ट्याक्सीहरुको भाडादर सर्वसाधारण यात्रुले सोचेभन्दा निकै महँगो मात्र छैन, नियमक निकायले निर्धारण गरेकोसंग नमिल्दो रहेको गुनासो छ । यसरी हेर्दा गोरखाको भाडादर ट्याक्सी व्यवसायी आफैले मनपरी कायम गर्दै आएका छन् । तर प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको भाडा निर्धारण समिति भने गुमनाम छ ।
२०७४ सालयता समितिको बैठक बसेको छैन । ट्याक्सी व्यवसायीले मनमौजी बढाउँदै अव्यवहारिक भाडा असुल गरिरहेका छन् ।
गण्डकी प्रदेश सरकारले २०७८ सालमा गरेको भाडा समायोजनलाई आधार मानेर आफू्हरुले भाडादर कायम गरेको जिल्लामा ट्याक्सी सेवा दिइरहेको गोरखा मनकामना यातायात सेवा प्रालिको दाबी छ । तर प्रालिले कायम गरेको भाडादर गण्डकी प्रदेश सरकारले तय गरेको मापदण्डभन्दा महँगो रहेको पाइएको छ ।
प्रदेशले गरेको भाडा समायोजन अनुसार १५ किलोमिटरभित्र यात्रा गर्दा सुरुवाती २०० मिटरसम्मको रु. ८० र त्यसपछि प्रति २०० मिटर बराबर रु. १० रुपैया कायम गरिएको छ । १५ किमि भन्दा बढीको दुरीमा भने प्रति किमि ३७ रुपैया ५० पैसाका दरले भाडा लिन पाउने व्यवस्था गरिएको छ । सो कुराको पुष्टि यातायात व्यवस्था कार्यालय तनहूँका अधिकृत बिष्णुबहादुर क्षेत्रीले गरेका छन् ।
तर जिल्लाको ट्याक्सी भाडादर भने प्रदेशले समायोजन गरेको भन्दा बढी महँगो छ ।
उदाहरणका लागि प्रालिले गोरखा बसपार्कदेखि सतिपिपलसम्मको (कुल ४ किमि) भाडा ३५० रुपैया निर्धारण गरेको छ । प्रदेशको भाडा समायोजन अनुसार उक्त दुरीको भाडा बढीमा २६० रुपैया पर्छ । तर मापदण्ड विपरित प्रालिले आफूखुशी भाडादर कायम गर्दै यात्रु ठग्दै आएको छ ।
यता गोरखा बसपार्कदेखि आँबुखैरेनीसम्मको २४ किलोमिटर दुरीको भाडा प्रालिले १६ सय रुपैया असुल्दै आएको छ । प्रदेशले बनाएको नियम अनुसार १५ किलोमिटरभन्दा माथिको दुरीमा प्रति किमि ३७ रुपैया ५० पैसाका दरले भाडा लिन पाउने व्यवस्था छ । यो भनेको गोरखा आँवुखैरेनीसम्मको भाडा ९ सय रुपैया हुनुपर्छ । तर प्रालिले यहाँ पनि यात्रुसँग मनमौजी महँगो भाडा असुल गर्दै आएको छ । जिल्लाका अधिकांश रुटमा ट्याक्सीहरुले महँगो भाडा लिने गरेका चौतर्फी गुनासो छ ।
ट्याक्सीमा मिटर जडान गरी मिटरका हिसाबले भाडा असुल्नु पर्ने नियममा उल्लेख छ । तर कुनै पनि ट्याक्सीमा मिटर जडान भएको छैन, भाडादर टाँस गर्नुपर्नेमा त्यो पनि बेवास्ता छ । ट्राफिक प्रहरीले असजिलो घुम्तीको छेको पारेर मोटरसाइकल मात्र चेकजाँच गर्छ, ट्याक्सीको भाडादरको अवस्था भने चेकजाँच गर्ने गरेको छैन । ट्याक्सीले मान्छे अनुसार मनपरी भाडा लिने गरेको तर कसैले नियमन नगर्ने गरेको ठगिएका एक यात्रुले गुनासो गरे । ‘मिटर पनि नजोड्ने, भाडादर पनि नटाँस्ने अनि मान्छे अनुसार मनपरी भाडा लिने गर्छन्,’ उनले भने, ‘साँझ पर्न थालेपछि भाडा झन् बढाउँदै लान्छन् । खै त ट्राफिकले यसलाई निगरानी गरेको ?’
मनपरी भाडा असुल गर्दै यात्रु ठग्दा समेत नियमन निकाय भने मौन छ । भाडा निर्धारण समितिका संयोजक समेत रहेको प्रजिअ भोला दाहालले पनि लामो समयदेखि बैठक बस्न नसकेको स्वीकार गरे । छिट्टै बैठक बसेर उचित भाडादर निर्धारण गर्ने र बेलाबेला निरीक्षण पनि गर्ने उनले बताए ।
ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिले भने यातायात व्यवस्था ऐन, भाडा निर्धारण समितिले तय गरेको भाडादर र एम्वुलेन्सको भाडादरको आधारमा ट्याक्सीको भाडादर कायम गर्दै आएको जनाएको छ । ‘सवारी व्यवस्था ऐन अन्तरगत नै हामीले भाडा निर्धारण गर्दै आएका छौँ,’ प्रालिका अध्यक्ष सुरेन लामिछानेले भने, ‘कालोपत्रे भएका कच्ची सडकहरुको भाडा घटाएका पनि छौँ ।’ गण्डकी प्रदेशको कास्की जिल्लाबाहेक अन्य जिल्लामा मिटर जडान अनिवार्य नरहेको उनले जिकिर गरे ।
यता जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद पाठकले बढी भाडा लिएको गुनासो आएमा कारवाही गर्ने बताए । ‘भाडादर चर्काे भएको भन्दै प्रशासनमा पटक पटक गुनासो गर्दा पनि बैठक बसेर भाडा समायोजन हुन सकेको छैन,’ उनले भने, ‘भाडा बढी लियो भनेर हामीलाई खवर गर्दैनन्, त्यस्तो जानकारी आएमा हामी कारवाही गर्छाैँ ।’

प्रतिक्रिया दिनुहोस्