| बुधबार, अशोज २३, २०८१

निजामति सेवा दिवसको अवसरमा गोरखामा प्रभातफेरी

‘निजामति सेवा दिवस–२०८१’ को अवसरमा गोरखा सदरमुकाममा प्रभातफेरी गरिएको छ । कर्मचारी मिलन केन्द्र गोरखाको आयोजनामा शनिबार जिल्ला प्रशासन कार्यालयदेखि हरमटारी, शक्तिचोक हुँदै बसपार्कसम्म प्रभातफेरी गरेको हो । प्रभातफेरीमा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुले सहभागिता जनाएको केन्द्रका अध्यक्ष एवं जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताए ।
दिवसकै अवसर पारेर कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको उनले जानकारी दिए । ‘निजामति सेवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको थियो’, उनले भने, ‘शनिबार सप्ताहव्यापी कार्यक्रम अन्तरगत प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार एवं कार्यक्रम अवधीभरको कार्यमूल्यङ्कनका आधारमा कर्मचारीहरुलाई कदरपत्र वितरण गरिएको छ ।’

दिवसको सन्दर्भमा आयोजित व्याडमिन्टन प्रतियोगिताका बिजेता महेश पौडेल र राजु मगरको टिमलाई मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको उनको भनाइ छ ।
यसैगरी, सप्ताहव्यापी कार्यक्रमहरुका उत्कृष्ट कार्य सम्पादन गर्ने गोरखा नगरपालिका सामाजिक बिकास शाखाकी अम्बिका घिमिरे, हुलाक कार्यालयका प्रमुख बिनोद गैरे, डिभिजन वन कार्यालयका महेश पौडेल र निर्वाचन कार्यालयका प्रमुख टेक बहादुर कोइरालालाई पनि केन्द्रले सम्मान गरेको छ । उनीहरुलाई सक्रिय सहभागिता सहित राम्रो कार्यसम्पादन गरेको भन्दै कदरपत्रले सम्मान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्