| बिहिबार, मंसिर २०, २०८१

पार्टीको अधिवेशनका लागि माओवादीले शिक्षकसँग चन्दा मागेको भन्दै बिरोध, जवरजस्ती चन्दा नउठाइएको माओवादी केन्द्रको भनाइ

नेकपा माओवादी केन्द्रले अजिरकोटमा पार्टीको स्थानीय अधिवेशन गर्न भन्दै शिक्षकहरुसँग जवरजस्ती चन्दा माग्ने गरेको भन्दै नेपाल शिक्षक संघ अजिरकोटले बिरोध जनाएको छ । आइतवार बिज्ञप्ती जारी गर्दै चन्दा लिने कार्य बन्द गर्न र सबै शिक्षकलाई भयरहित र सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन विज्ञाप्तिमार्फत आग्रह गरेको छ ।

‘बिभिन्न शिक्षण संस्थामा प्रवेश गरी शिक्षकहरुलाई रकम तोकी चन्दा माग्ने कार्यप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघका अजिरकोट गाउँ कार्यसमिति अध्यक्ष कालिका प्रसाद अधिकारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘शान्ति प्रक्रियामा आइसकेको आजको यस परिस्थितिमा समेत यस्ता कार्य गरी चन्दा लिने कार्य बन्द गर्न र सबै शिक्षकलाई भयरहित र सम्मानपूर्वक कार्य गर्ने मार्ग उपलब्ध गराउन अपिल गर्दछौँ ।’

यस्ता कार्यहरु जारी रहे संघले आवश्यक निर्णय गरी अघि बढ्न बाध्य हुने विज्ञप्तीमा उल्लेख छ । कुनै पनि पार्टीलाई चन्दा नदिन संघले सबै शिक्षकहरुलाई आग्रह समेत गरेको छ । यता नेकपा माओवादी केन्द्र अजिरकोटले अधिवेशनका लागि कसैसँग जवरजस्ती चन्दा माग नगरिएको जनाएको छ । आइतवार नै बिज्ञप्ती जारी गर्दै उक्त पाटीले स्वच्छेकिक रुपमा सहयोग लिएको जनाएको छ ।

‘अधिवेशन सम्पन्न गर्न स्वच्छेकिक रुपमा सहयोग लिने भन्दा वाहेक कोही कसैसँग जवरजस्ती, करकापले सहयोग लिएको छैन, लिने नीति पनि छैन,’ अजिरकोटका पार्टी प्रतिनिधी रामशरण अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । समाजिक संजालमा प्रचारबाजी गरी फण्डा गर्ने नियतिले जारी बिज्ञप्तीमा कुनै सत्यता नरहेको भन्दै अनावश्यक अतिरञ्जित गतिविधी नगर्न माओवादी केन्द्र अजिरकोटले अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्