बाढीले क्षति पुगेका झोलुङ्गे पुलको मर्मत गर्न बजगाईको आग्रह
केही दिनअघिको अविरल बर्षाका कारण क्षति पुगेका गोरखाका झोलुङ्गे पुल निर्माण तथा मर्मत गरिदिन प्रतिनिधी सभा सांसद राजेन्द्र बजगाईले आग्रह गरेका छन् । वुधवार सन्स्पेन्सन ब्रिज महाशाखा पुल्चोकलाई पत्राचार गर्दै उनले बाढीले क्षति पु¥याएका जिल्लाका झोलुङ्गे पुलहरुको आवश्यकता अनुसार मर्मत र निर्माण गरिदिन आग्रह गरेका हुन् ।
गोरखा निर्वाचन क्षेत्र नम्वर १ का सांसद बजगाईले शहीद लखन गाउँपालिका ४ र चितवनको इच्छाकामना गाउँपालिका ४ जोड्ने ठेउवाटार (धारापानी जोड्ने) झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पुगेको भन्दै नयाँ पुल निर्माणका लागि आग्रह गरेका छन् । बाँकी छ वटा पुलमा भने आशिंक क्षति पुगेकाले मर्मत गरिदिन उनले महाशाखालाई आग्रह गरेका छन् ।
बेनीघाट रोराङ गाउँपालिका ७ र गण्डकी गाउँपालिका ७ मा पर्ने धवादीघाट चरौदी झोलुङ्गे पुल, गण्डकी गाउँपालिका वडा नं ८ मा रहेको कौदी खोला झोलुङ्गे पुल, गण्डकी गाउँपालिका ६ र बेनीघाट रोराङ १० जोड्ने हिक्लुङ घाट झोलुङ्गे पुल, शहीद लखन गाउँपालिका ४ र चितवनको इच्छाकामना गाउँपालिका ४ जोड्ने ठेउवाटार झलुङ्गे पुल (लेवाटार जोड्ने), शहीद लखन ३ र चितवनको इच्छाकामना ३ जोड्ने सिलिङटार झोलुङ्गे पुल र गण्डकी गाउँपालिका ८ र चरौदी बजार जोड्ने झोलुङ्गे पुल मर्मत गरिदिन आग्रह गरेका हुन् ।