
प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम रोकियो
मेलिना बराम ।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुदाँ गोरखा नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको वडाअध्यक्षहरुले गुनासो गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी लामो समयदेखि काठमाडौंमा बस्दा आर्थिक कारोबारदेखि उपभोक्ता समिति गठनमासमेत समस्या भएको वडाध्यक्षहरुको गुनासो छ ।
दशैँका बेला बाटो सरसफाई गर्नलाई बजेट छुट्याएर प्रविधिकले स्टिमेट तयार पारे पनि स्वीकृत गर्ने प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम रोकिएको वडा नं. ४ का वडाध्यक्ष लालप्रसाद भट्टराईले बताए । ‘दशैँ लागिसक्यो, बाटो सरसफाई गर्न योजना बनाएर २ लाख ८० हजार बजेट छुट्याएर स्टिमेट तयार ग¥यौँ,’ उनले भने, ‘त्यो स्वीकृतीका लागि हाकिमसापको साइन चाहिन्छ, तर उहाँ हुनुहुन्न । भीमसेनपार्क व्यवस्थापनको काम सम्पन्न भइसकेको छ, हाकिमसाप् नहुदाँ अहिलेसम्म भुक्तानी गर्न पाइएन ।’
प्रमुख प्रशासकीय अधिकृत जनताप्रति जवाफदेही भएर काम गर्नु पर्ने उनको सुझाव छ । ‘हाकिम भनेको जनताप्रति जवाफदेही हुनुपर्छ, तर, उहाँकोचाहिँ राजनीतिक दलप्रतिको झुकावले हो कि के हो साह्रै समस्या बनायो,’ उनले भने, ‘फेरि कसैले हाकिमलाई टिक्न दिदैनौँ भन्ने, बस्ननै दिन्नौँ भन्ने अनि कसरी हुन्छ त ?’ नगरपालिका सिस्टममा चल्न नसकेकाले समस्या भएको उनले आरोप लगाए । ‘प्रशासन सिस्टममा चल्नु पर्छ । यहाँ त सिस्टम नै छैन’ उनले भने ।
वडा नं. १२ का वडाध्यक्ष डिलबहादुर थापाले प्रमुख प्रशासकीय अधिकृतकले गैरजिम्मेवार भएको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत जनताको काम गर्न छाडेर डेढ महिनादेखि काठमाडौंमा बसेका उनको आरोप छ । ‘हाकिमसाप् डेढ महिनादेखि काज देखाएर काठमाडौंमा बस्नु भएको छ ।
उहाँ यसरी बस्दा वडाको काम मात्रै होइन नगरपालिकाको दैनिक काम समेत प्रभावित भएको छ,’ उनले भने, ‘हालसालैको बाढी, पहिरोले बिगारेका संरचना मर्मत गर्नुपर्ने छ, दशै लागिसक्यो, आवतजावत गर्ने बाटो राम्रो छैन,’ थापा भन्छन्, ‘तर समिति बनाएर काम गर्नुपर्छ, तर समिति बनाउन हाकिमसाप् चाहिन्छ । हाकिमै छैनन् । हाकिम गैरजिम्मेवार हुँदा धेरै समस्या भयो ।’ अबुवामा गएको पहिरो पन्छ्याउने काम सम्पन्न भइसकेको तर, त्यसको भुक्तानी दिन नसिकएको उनले बताए ।
यता वडा नं. ११ का वडाध्यक्ष रामबहादुर खड्काले हाकिमबाट योजनाको स्वकृति नभए पनि आवश्यकताअनुसारको काम भने नरोकिएको बताएका छन् । नगरपालिकामा हाकिम नहुदाँ नगद कारोबारमा भने धेरै नै समस्या भएको उनले बताए । ‘हाकिमसाप नभए पछि नगद कारोबारको काम हुने कुरा त भएन तर, अन्य योजनाहरुका लागि वडा प्राविधिकहरुले स्टिमेट गराएर राखेका छन्’, उनले भने, ‘स्वीकृत हुनलाई हाकिम सापले साइन गर्नु पर्छ । उहाँ यहाँ हुनुहुन्न भन्दैमा दैनिकी काम रोक्नु त भएन । स्वीकृती गर्ने काम पछि गर्दै गर्दा नि हुन्छ । अहिले आवश्यकता अनुसारको कामले चाहिँ निरन्तरता पाउनु पर्छ भन्ने हो ।’
इन्धनमा सही गर्ने कार्यालय प्रमुख नहुँदा नगरपालिकाको जेसिबीचाहिँ सञ्चालन गर्न नसकिएको उनले बताए । नगरपालिकाको जेसिबी चलाउन पाएको भए पहिरो पन्छ्याउन सजिलो हुन्थ्यो । तर जेसिबी चलाउन चाहिने इन्धनको कुपनमा हाकिमसाप्को साइन चाहिन्छ । उहाँ नभए पनि रोकिएको छ,’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना सञ्चालन गर्न पनि नपाएको सम्पन्न भएको योजनाको भुक्तानी दिन पनि नपाएको वडा नं. ३ का वडाध्यक्ष चुलबहादुर कुँवरले बताए । ‘हरेक काममा हाकिम सापको साइन चाहिन्छ, । साइन गरेर स्वकृती दिने मान्छे नै नभए पछि हामीले स्टिमेट बनाएर मात्रै के गर्नु’, कुँवर भन्छन्, ‘स्वीकृति गर्ने हाकिमसाव् नहुँदा असार २७ गतेको बाढीले क्षति पु¥याएको ठाउँमा पाइप र तारजाली राख्ने काम अहिलेसम्म पनि हुन सकेको छैन । रोपाइँका बेला खेत संरक्षण गर्न लगाउनु पर्ने तारजाली धान भित्र्याउने बेलासम्म पनि बाँड्न नपाउनु यो भन्दा दुःख लाग्दो कुरा के हुन्छ ।’
गत वर्षको क्रमागत योजना अन्तरगर्तको नारेश्वरमा २ लाखको ढलान, होलसिङ गोरेटो बाटो निर्माणको काम सम्पन्न भए पनि कार्यालय प्रमुख नहुँदा भुक्तानी गर्न बाँकी रहेको वडाध्यक्ष कुँवरले बताए । वडाहरुमा असोज १ गतेदेखि खाता सञ्चालन भएको छ । खाता सञ्चालन भए पनि समिति गठन गर्न हाकिमको आदेश आउनु पर्ने उनले बताए । ‘एक हप्ताको विदामा जानु भएको हो । धेरै नै भयो नगरपालिकामा नफर्किनु भएको,’ उनले भने, ‘उतै मन्त्रालयतिरै सरुवा गरेर बस्छु भन्नु भएको छ रे । हामी समस्यामा प¥यौँ ।’
यता नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरले करिब एक महिनादेखि काठमाडौं बसेर पनि प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको काम गरिरहेको बताएका छन् । काठमाडौं बसाइमा पनि उनले नगरपालिकाको प्रतिनिधित्व गरी तालिमहरुमा सहभागी भइरहेको उनले जानकारी दिए । नगरपालिकाको तलब भत्ता भुक्तानीको काम पनि उतैबाट गरिरहेको मेयर रानाले बताए । ‘उहाँ काठमाडौं बसेर पनि नगरपालिकाको कामहरु गरिराख्नु भएको छ’, उनले भने । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले भने आफु काठमाडौं गएको ‘दुईदिन मात्रै भयो’ भने अरु प्रतिक्रिया नदिई फोन काटेका छन् ।