सामागाउँमा चुमनुब्रीकै सबैभन्दा ठूलो सामा मानी सांस्कृतिक महोत्सव हुने
चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ हुने भएको छ । आउँदो कात्तिक महिनाको ७ गतेदेखि १३ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको प्रमुख लामा जिग्मेले जानकारी दिए । चुमनुब्री गाउँपालिकाभरिकै सबैभन्दा ठूलो मानिने यो महोत्सव सामागाउँको बीचमा रहेको खुल्ला ठाउँमा आयोजना हुने छ । ‘सामा मानी सांस्कृतिक महोत्सव’ सयबर्ष भन्दा पहिलेदेखि चलिआएको प्राचीन महोत्सव भएको मुख्य लामा जिग्मेले बताए ।
प्रत्येक तीनबर्षमा हुने सो सांस्कृतिक महोत्सवको आयोजना लोटस फिट अफ मनास्लु हेरिटेजले गर्दैछ । सातदिनसम्म सञ्चालन हुने यो मेलामा ओपेरा डान्स(परी नाच) हुनेछ । त्यस्तै घिउ अर्पण कार्यक्रम पनि हुनेछ । घिउ अर्पण कार्यक्रममा स्थानीयबासीले पाँच किलोग्राम, १० किलोग्राम घिउ अर्पण गर्ने गर्छन् । सो घिउ तीनबर्षसम्म गुम्बामा बत्ती बाल्न प्रयोग गर्ने प्रचलन रहेको छ । ‘गुम्बामा बत्ती बाल्यो भने पाप पखालिन्छ, सुख, शान्ति, संवृत्ति, कल्याण प्राप्त हुन्छ भन्ने विश्वास छ’, प्रमुख लामा जिग्मेले भने, ‘त्यसैले घिउ दान गर्न गाउँले सबै र काठमाडौँदेखि पनि आउने गर्छन् ।’
ओपेरा नाच हिमालयन संस्कृतिले भरिएको नाच हो । यसमा वोधिसत्वको कथायुक्त नाटक पनि हुने गर्छ । ‘दिनभरि ओपेरा नाच र रातभरि स्याप्रु नाच हुने गर्छ’, प्रमुख लामा जिग्मेले भने, ‘सातदिनसम्म यसरी धुमधामले चल्ने यो महोत्सव चुमनुब्री क्षेत्रकै सवैभन्दा ठूलो महोत्सव हो ।’ यस मेला, महोत्सवमा विशेषगरी नुब्री क्षेत्रका सबै गाउँबाट र चुम उपत्यकाका दर्शक पनि आउने उनले बताए ।
सो ओपेरा नाच तथा स्याप्रु नाचका लागि १० दिनअघिदेखि तयारी थालिने भएको छ । महोत्सव अवधिभरि गाउँका बासिन्दा गाउँबाहिर नगै कार्यक्रममा सहभागी हुनेछन् । साथै विदेशी पर्यटकलाई पनि देखाएर देश, विदेशमा समेत प्रचार प्रसार गर्ने उद्देश्य आयोजकले लिएको छ ।
सयौंबर्षदेखि चल्दै आएको यस उत्सवलाई यसअघि गाउँमा मात्र सीमित राख्ने गरिन्थ्यो । अब भने प्रचारात्मक रुपमा लैजाने स्थानीय सामाजिक अगुवाहरुको तयारी छ ।