| बिहिबार, मंसिर २०, २०८१

गोनपा ५ को उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउँदै दलहरु

गोरखा नगरपालिका वडा नम्वर ५ मा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारहरुको लगभग टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसबाट भाइकाजी आले उम्मेदवार बन्ने पक्का भएको छ । उनलाई उम्मेदवार बनाउने भन्दै कांग्रेस वडा नम्वर ५ बाटै सर्वसम्मत रुपमा निर्णय भएको कांग्रेस जिल्ला सचिव किशोरजंग थापाले बताए ।

नेकपा एमालेबाट दुर्गामाया राना उम्मेदवार बन्ने भएकी छन् । शुक्रवार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले रानालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी जिल्ला सचिव काजिराम रोकाले बताए । यता नेकपा माओवादीले भने उम्मेदवारको टुंगो लागि नसकेको बताएको छ ।

‘हामीले वडालाई पाँच जनाको नाम सिफारिस गरेर पठाउनु भनेका छौ, तर अहिलेसम्म वडाले पठाएको छैन,’ पार्टी जिल्ला सचिव अंकुर तिमिल्सिनाले भने, ‘आज भोलिमा टुंगो लगाउने भन्ने थियो, काठमाडौंको कार्यक्रमले पनि डिस्टव ग¥यो ।’ एक दुई दिनभित्र उम्मेदवारको नाम टुंगो लाग्ने उनले जानकारी दिए । उम्मेदवारको टुंगो नगालेपनि माओवादीको तर्फबाट बिष्णु रानाको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्