गत बर्ष फ्रिज भएको आलु प्रवद्र्धन कार्यक्रम यस बर्ष कार्यान्वयन चरणमा
गत बर्ष फ्रिज गएको आलु प्रवद्र्धन कार्यक्रम यसबर्ष भने कार्यान्वयनमा आउने भएको छ । उक्त कार्यक्रमका लागि चालु आव एक करोड एक लाख रकम विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
‘यो वर्ष चैते धान प्रवद्र्धन आयोजना, समुदायस्तरमा खायन/प्रशोधन योग्य आलु प्रवद्र्धन र सुन्तालाजात फलफुल बिकास आयोजना गरी तीन मुख्य शीर्षकहरुमा धेरै बजेट बिनियोजन भएको छ’, कार्यालयका सूचना अधिकारी सुमन भट्टराइले भने, ‘तीमध्ये पनि सबैभन्दा धेरै बजेट आलु प्रवद्र्धन कार्यक्रमका लागी छ ।’
कार्यक्रम अन्तरगत जिल्लाको कुल ५५ हेक्टर क्षेत्रफलमा खायन र प्रशोधनयोग्य गरी दुई प्रकारको आलु अत्पादन हुने उनले बताए । त्यस्तै ५ हेक्टर क्षेत्रफलमा भने बिउ उत्पादन गरिने उनले जानकारी दिए । उनका अनुसार कार्यक्रमका लागि यो बर्ष २४ वटा कृषि फर्म छनोट भइसकेका छन् । खायन आलु उत्पादनतर्फ धेरै फर्महरु परेका छन् ।
‘खायन आलु चाँही विषेशगरी माथिल्लो बेल्टलाई लक्षित गरेर बनाइएको कार्यक्रम हो । प्रशोधनयोग्य आलु उत्पादका लागी ठुलो र फराकिलो जमिन चाँहिन्छ, माथिल्लो बेल्टमा यस्तो आलु लगाउँदा ढुवानीमा समेत समस्या हुने हुँदा हामीले त्यस क्षेत्रमा खायन आलुको कार्यक्रमलाई जोड दिएका छौ,’ भट्टराइले भने ।
गत आव यही शीर्षकको कार्यक्रमका लागी आएको १ करोड ४० लाख मध्ये कार्यालयले दुई लाख पनि खर्च गर्न सकेन । कार्यक्रम कार्यान्वयन गर्न नसक्दा बाँकी रकम फ्रिज गएको थियो । सम्झौता भएको कम्पनीले बिउ उपलब्ध नगराउँदा गत बर्ष समस्या भएको कार्यालयले जनाएको छ ।
‘फास्ट फुड च्वाइस् कम्पनी नामक संस्थाले गण्डकी प्रदेशको गोरखा सहित ७ जिल्लाहरुबाट प्रशोधनयोग्य आलु उत्पादनका लागी प्रदेश सरकारसँग सम्झौँता गरेको थियो’, भट्टराईले भने, ‘सम्झौँता अनुसार आलु उत्पादनका लागि बिउ उपलब्ध गराउने जिम्मा सोही संस्थाको थियो तर, संस्थाले बिउ नपठाउँदा कार्यक्रम कार्यान्वयन गर्न सकेनौ ।’ कार्यक्रम ढिला गरि आएको र कार्यालय प्रमुखले पनि तदरुपता नदेखाउँदा कार्यान्वयनमा समस्या भएको बताइएको छ ।
यो बर्ष भने उक्त कार्यक्रम कार्यान्वयन हुने उनले बताए । उनका अनुसार कार्यक्रमका लागि छनोट भएका कृषक समूहले बिउ खरिद, रोग किरा व्यवस्थापन, सिंचाइ, कृषि उपकरण खरिद, ढुवानी लगायतका कार्यमा अनुदान पाउछन् । कार्यालयका अनुसार गोरखा जिल्ला आलुमा आत्मनिर्भर छ ।
गत बर्ष मात्रै जिल्लामा कुल ५१ हजार ३८२ मेट्रिक टन आलु उत्पादन भएको थियो । त्यस्तै २८ मेट्रिक टन बिउ उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लाको सबै स्थानीय तहमा आलु उत्पादन हुने भएपनि गोनपा, पानपा, धार्चे, चुमनुव्रीमा बढी उत्पादन हुने बताइएको छ ।