तीन महिनामा १६ हजार बढीले गरे संग्रहालय अवलोकन, तीन लाख बढी राजश्व संकलन
तीन महिनाको अवधिमा १६ हजार ४२२ जनाले गोरखा संग्रहालय अवलोकन गरेका छन् । यो चालु आर्थिक बर्षको साउनदेखि असोज महिनासम्मको तथ्याङ्क हो । तथ्याङ्क अनुसार संग्रहालय अवलोकन गर्नेमा सबैभन्दा बढी नेपाली पर्यटक रहेका छन् । ‘तीन महिनाको अवधिमा संग्रहालय अवलोकन गर्नेमध्ये १४ हजार ९ जना नेपाली पर्यटक छन्,’ संग्रहालय प्रमुख जयनारायण कार्कीले भने, ‘दुई सय सय ४४ जना बिदेशी पर्यटक ।’
जसमध्ये २२ जना सार्क राष्ट्रको र बाँकी अन्य देशका नागरिक रहेको उनले जानकारी दिए । उनका अनुसार सो अवधिमा संग्रहालय घुम्ने बिद्यार्थीको संख्या भने २ हजार १६९ रहेको छ । सबैभन्दा बढी साउन महिनामा ६ हजार ७०३ जनाले संग्रहालय अवलोकन गरेका छन् । भदौ महिनामा ५ हजार ५८६ र असोज महिनामा ४ हजार १३० जना रहेको तथ्याङ्कमा उल्लेख छ । तीन महिनाको अवधिमा कुल ३ लाख ९९ हजार ८६५ रुपैया राजश्व संकलन भएको कार्कीले बताए ।
पर्यटकबाट साउन महिनामा १ लाख ६२ हजार ५४०, भदौ महिनामा १ लाख ३३ हजार ६१० र असोज महिनामा १ लाख ३ हजार ७१५ रुपैया राजश्व संकलन भएको उनले जानकारी दिए । नेपाली पर्यटकबाट ३ लाख ५० हजार, बिदेशी पर्यटकबाट २२ हजार र बिद्यार्थीबाट २१ हजार ६ सय ९० राजश्व संकलन भएको बताइएको छ । सार्क राष्ट्रका पर्यटकबाट भने १ हजार १ सय राजश्व संकलन भएको छ ।
संग्रहालय अवलोकनका लागि नेपाली पर्यटकलाई २५ रुपैया प्रवेश शुल्क तोकिएको छ । सार्क राष्ट्रका नागरिकलाई ५० र अन्य देशका बिदेशी पर्यटकलाई १०० सय रुपैया तोकिएको छ । बिद्यार्थीको हकमा भने १० रुपैया प्रवेश शुल्क तोकिएको संग्रहालय प्रमुख कार्कीले बताए । ‘असोज महिनामा धेरै नै पर्यटक हुनुपर्ने हो तर बर्षाले समस्या बनायो, अव शैक्षिक भ्रमणको सिजन सुरु भएको छ, संग्रहालय आउने पर्यटक बढ्छन्,’ उनले भने ।