| बिहिबार, मंसिर २०, २०८१

तिहार लक्षित प्रहरीको बिशेष सुरक्षा रणनीति : ड्यूटीमा जनशक्ति बढाइयो, सादा पोशाकमा प्रहरी परिचालन

चाडपर्वमा हुन सक्ने अपराधिक क्रियाकलापलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालयले बिशेष सुरक्षा रणनीति तयार गरेको छ । नियमितभन्दा ड्यूटी थप गरिएको र जनशक्ति पनि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए । ‘क्विक रेस्पोन्स (क्यूआर) टिम कार्यालय र इलाकामा हुन्छन्,’ उनले भने, ‘२४ सै घण्टा हुने पिकेट र मोवाइल ड्यूटीमा पनि जनशक्ति थप गरेका छौ, थप टोली चाहिएमा स्ट्याण्डवाइ हुन्छन् ।’

सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । उनका अनुसार जुवातास र अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रशासन कार्यालयसँगको सहकार्यमा निगरानी बढाइएको छ । सदरमुकाम आसपास घटना भएको ५ मिनेट र अन्य ठाउँमा भूगोल अनुसार बढीमा आधा घण्टाभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

यता कार्यालयले तिहारमा पटाका, भुईचम्पा, आतसवाजी लगायतका बिष्फोटक पदार्थको ओसारपसार र बिक्री वितरणमा रोक लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै कार्यालयले यस्ता बिष्फोटक पदार्थको ओसारपसार र बिक्री वितरण नगर्न आग्रह गरेको हो । ‘पटाका, भुईचम्पा, आतसबाजी जस्ता बिष्फोटक पदार्थले मानवीय, भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकाले यसको आयात, ओसारपसार र बिक्री वितरणमा रोक लगाएका हौ,’ एसपी पाठकले भने ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झै–झगडा गर्ने र शान्ति सुरक्षामा खलल पुग्ने काम नगर्न समेत प्रहरीले अनुरोध गरेको छ । चाडपर्वको नाममा चन्दा, चिठ्ठा, उपहार जस्ता आर्थिक असुली गर्ने कार्य पनि गर्न नपाइने कार्यालयले जनाएको छ । साथै राती नौ बजेपछि देउँसी भैलो कार्यक्रम संचालन गर्न नपाइने बताइएको छ । चाडपर्वको समयमा चोरी, डकैती, लुटपाट जस्ता अपराधहरु हुन सक्ने भन्दै सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

बहुमूल्य गरगहना, नगद तथा जिन्सी सामानहरु सुरक्षित स्थानमा राख्न र अनावश्यक रुपमा प्रद्धर्शन नगर्न समेत प्रहरीले भनेको छ । कुनै समस्यामा परेमा वा शंकास्पद गतिविधी देखेमा तत्काल प्रहरीलाई खवर गर्न आग्रह गरिएको छ । प्रहरीको हटलाइन नम्वर १००, ९८५६०९०२५५ वा ९८५६०९०८५५ जुनसुकै नम्वरमा सम्पर्क गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्