| बिहिबार, मंसिर २०, २०८१

गोनपामा प्रमुख प्रशासकीय अधिकृत हाजिर गराएर सेवा सुचारु गर्न माग

गोरखा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराई दैनिक कार्य संचालन गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले माग गरेको छ । मंगलवार गोरखा नगरपालिकाका मेयर कृष्ण रानालाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले प्रशासकीय अधिकृत नहुँदा सम्पन्न भएका योजना भुक्तानीमा आम उपभोक्ताले हैरानी खेप्नुपरेको बताएका छन् ।

‘लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा गैर हाजिरी हुने तर केही आर्थिक कारोवारको लागि निजी निवासमा कर्मचारी खटाई चेकमार्फत कारोवार भएको भन्ने बुझिएको हुदाँ सत्यतथ्य जानकारी गराई प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराई दैनिक कार्य संचालनको लागि ध्यानाकर्षण गराउँछौ,’ ज्ञापन पत्रमा भनिएको छ ।

लामो समयदेखि कार्यपालिकाको बैठक बस्न नसकेको भन्दै तत्काल बैठक बसेर नीतिगत निर्णय गरी सेवा सुचारु गर्न पनि पार्टीले माग गरेको छ । निर्माण समपन्न भई वर्षैदेखि अल्झिएको दरौँदी खानेपानी आयोजना सुचारु गर्न र अल्झिएका आयोजनाहरु कार्यान्वयन गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गोरखा नगरपालिका अध्यक्ष रामभक्त खनालले बताए ।

आर्थिक स्रोतहरु वडाध्यक्षको तजविजका आधारमा बाँडफाँड भई कार्यान्वयन हुँदा दुरुपयोग भएको भन्दै ज्ञापन पत्र मार्फत नगरपालिकालाई सचेत समेत गराइएको छ । वडास्तरका सडक समयमै निर्माण, मर्मत र सुधार गर्नुपर्ने उनीहरुको माग छ । प्राकृतिक विपदले क्षति पु¥याएको आवास, सिंचाई, खानेपानी मुहान र अन्य संरचनाहरुको हालसम्म पनि अनुगमन नभएको र राहत उपलब्ध समेत नगराइएको प्रति पनि पार्टीले ध्यानाकर्षण गराएको छ ।

सडक अतिक्रमण गरि बनाइएको संरचनाहरु भत्काएर सडक सुरक्षामा ध्यान दिन आग्रह गरिएको छ । ‘नगरक्षेत्रमा बसपार्क, सवारी साधान मर्मत गर्ने ग्यारेज अव्यवस्थीत भएको र जसले गर्दा पर्यटकीय नगरी भनेर चिनिने गोरखा बजार कुरुप बनेकाले जोखिमयक्त क्षेत्र, सडक अतिक्रमण गरी बनाइएको क्षेत्रहरु, सार्वजनिक जग्गामा बनाईएको मर्मत केन्द्रहरुलाई कानुनी माध्यमबाट न्युनतम मापदण्ड निर्धारण गरी सडक सुरक्षामा ध्यान दिनुपर्ने र व्यवसायीक क्षेत्र निर्धारण गर्नुपर्ने हाम्रो माग छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्