सामागाउँमा ‘सामा मानी सांस्कृतिक’ महोत्सव सम्पन्न
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा संचालित ‘सामा मानी सांस्कृतिक महोत्सव’ सम्पन्न भएको छ । विभिन्न संस्कृतिक नाँचहरु प्रदर्शन गरेर गत कात्तिक ७ देखि सुरु भएकोे महोत्सव मंगलबार सम्पन्न भएको हो । महोत्सवमा तिब्बती इतिहासमा प्रचलित आठ कथा मध्य चार वटा प्रद्धर्शन गरिएको स्थानीय मिङमार लामाले बताए ।
उनका अनुसार ‘सामा मानी सांस्कृतिक महोत्सव’ सयबर्ष भन्दा पहिलेदेखि चलिआएको प्राचीन महोत्सव हो । प्रत्येक तीन बर्षमा हुने सो महोत्सवको आयोजना लोटस फिट अफ मनास्लु हेरिटेजले गरेको हो । सात दिनसम्म सञ्चालन भएको यो महोत्सवमा ओपेरा डान्स (परी नाच) र घिउ अर्पण कार्यक्रम समेत भएको थियो ।
स्थानीयले अर्पण गरेको उक्त घिउ तीन बर्षसम्म गुम्बामा बत्ती बाल्न प्रयोग गर्ने प्रचलन रहेको छ । गुम्बामा बत्ती बाल्यो भने पाप पखालिने, सुख, शान्ति, सम्वृद्धि प्राप्त हुन्छ धार्मिक बिश्वास छ । सयौं बर्षदेखि चल्दै आएको यस महोत्सवलाई यसअघि गाउँमा मात्र सिमित राख्ने गरिन्थ्यो । अब भने प्रचार प्रसार गर्ने स्थानीयको तयारी छ ।