| शुक्रबार, माघ ४, २०८१

दर्शकमा फिल्म हलको क्रेज बढ्दो ! भन्छन्, ‘कथा राम्रो भए फिल्म चलिहाल्छ’

फिल्म राम्रो होओस् कि नराम्रो, त्यो अर्कै कुरा हो । फिल्म हेर्न टिकट किन्न कुस्ताकुस्तीको सामना गर्दै लाइन बस्नुपथ्र्यो, कि ब्ल्याकमा टिकट किन्नुपथ्र्यो । दादागिरी सिक्ने र सिकेको दादागिरी देखाउने थलो हुन्थ्यो फिल्महलको आँगन । फिल्म उद्योग निकै फस्टाएको युगको कुरा अहिले कथाझै लाग्छ । कुनै समयको फिल्मको क्रेज, फिल्महलको क्रेज कुनै समय समाप्त भयो ।

मोबाइल, कम्प्यूटरमा फिल्म हेर्ने सुविधा खुल्ला भएपछि राजधानीका केही हलहरु जीवित रहे, पोखरा, चितवनजस्ता ठूला सहरमा एकाध जेनतेन गतिशील रहेपनि मोफसलका प्रायः हलहरु बन्द भए । कुनै समय दुईवटा सिनेमा हल संगसंगै बनेको गोरखामा कुनै समय दुइटै बन्द भए । हिमाली हल भत्काइयो, केहीबर्ष ग्रिल उद्योग सञ्चालन भयो र अहिले त्यहाँ ड्राइभिङ सेण्टर चलेको छ ।

पछिल्लो समय बजारमा राम्रा नेपाली फिल्म आउन थाले । तिनको चर्चा, परिचर्चा चुलिन थाले । सिनेमा उद्योगले पनि यस्ता केही विशेष जुक्ति अपनाए, जसका कारण फेरि हल भरिन थालेका छन् । बन्द रहेको गोरखकाली चलचित्र मन्दिर दुईबर्षदेखि सञ्चालनमा छ । फाट्टफुट्ट चल्ने सो हल केहीदिन यता भरिभराउ हुन थालेको छ ।

हलमा ‘पूर्णबहादुरको सारङ्गी’ चलेको थियो । शनिबार १२ः३० को शोका लागि टिकटको लाइनमा तँछाडमछाड भयो । टिकटको लाइनमा स्कूल, क्याम्पसका शिक्षक पनि थिए, विद्यार्थी पनि । वैंकर्स पनि थिए, उद्योगी, व्यापारी पनि । सरकारी, गैरसरकारी संस्थाका कर्मचारी पनि थिए । १० बर्षमुनिका बालकालिका पनि थिए, ७० बर्ष हाराहारीका ज्येष्ठ नागरिक पनि । बाल्कोनी, स्पेशल, क, ख श्रेणीका सबै टिकट १२ः१५ नबज्दै सिद्धियो ।

उही शोनहेरी नछोड्नेहरुले सिटको अभावमा प्यासेजमा उभिएरै फिल्म हेरे । तीन बजे हेरे पनि फरक नपर्नेहरु आँगनमा केहीबेर दुखित बन्दै रल्लिए र तीनबजेकै टिकट काटे । हल दर्शकले खचाखच थियो ।

‘आज २७ बर्षपछि फिल्म हेर्न आएको हुँ । साथीभाइ मिलेर आएका छौँ । धेरै रमाइलो लागेको छ’, बाल्कोनीमा फिल्मको प्रतिक्षा गरिरहेका अमृत बोगटीले भने, ‘फिल्म राम्रो छ भन्ने सुनेँ । नेपाली फिल्म यत्तिको लोकप्रिय हुनु सुखद कुरा हो । हामी नि एउटा व्यवसायी हौँ । फिल्म बनाउने, हल चलाउने पनि अर्को व्यवसाय नै हो । नेपाली फिल्म चल्नु पर्छ । हल पनि चल्नु पर्छ । राम्रो कुरा हो । खुशी लागेको छ ।’

२० बर्षदेखि हलमा गएर फिल्म हेर्न छाडेका ६७ बर्षका जुद्धमान श्रेष्ठ शनिबार सबै परिबार लिएर हलमा आएका छन् । ‘फिल्म राम्रो छ हेर्न जाम भनेर छोराछोरीले कर गरेपछि जहान, छोराछोरी, नाति, नाति, पनाति पतातिना सबै लिएर आएको छु’, उनी भन्छन्, ‘२० बर्ष भएको थियो, हलमा गएर फिल्म नहेरेको आज हेर्न पाइयो ।’

शनिबारको दिन घरपरिबार र आफ्नो घरमा डेरागरी बस्ने सबैजना मिलेर फिल्म हेर्न आएको अस्पतालमार्गका खिलप्रसाद तिवारीले सुनाए । ‘घर परिबार, घरमा बस्नेहरु सप्पै मिलेर आएका छौँ हामी त । यी हेर्न सक्नुहुन्छ, १७ वटा टिकट लिएका छौँ’, ६८ बर्षका तिवारी भन्छन्, ‘एउटा असल बुबाले आफ्नो परिबार कसरी सुखी र खुशी बनाउनुपर्छ भन्ने बारेमा फिल्म बनेको छ भन्ने सुनेर हेर्न आएका हौँ ।’

द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्यापन गर्ने जयराम अधिकारीको राम्रो नेपाली फिल्म नछुटाइकन हेर्ने बानी छ । ‘मेरो घर चितवन हो । गोरखामा हल बन्द भए पनि चितवनमाचाहिँ चलिरहेको थियो । राम्रो नेपाली फिल्म चितवनको हलमा नछुटाइकन हेर्थेँ । अहिले गोरखामै हल चलेको छ । राम्रो फिल्म आएको बेला नछुटाइकन हेर्छु’, अधिकारीले भने, ‘राम्रो फिल्म बन्यो भने नेपालीहरुले नेपाली फिल्म हेर्छन्, हेर्नुपर्छ ।’

फुर्सदको बेला हलमा आएर फिल्म हेर्नपाउनु धेरै राम्रो कुरा भएको भूमिका श्रेष्ठ तर्क गर्छिन् । ‘असल संस्कार सिकाउने पारिबारिक फिल्म हुनुपर्छ, फुर्सदका बेला सपरिबार हलमा आएर फिल्म हेर्नु भनेको त धेरै राम्रो कुरा हो’, स्वास्थ्यकर्मीसमेत रहेकी उनी भन्छिन्, ‘मनोरञ्जन पनि हुने, टाइमपास पनि हुने, आफूले पनि शिक्षा पाउने, बालबच्चालाई पनि शिक्षा दिन सकिने, सकारात्मक सन्देश दिन सकिने, प्रेरणा दिन सकिने । राम्रो फिल्म बनायो भने हामीजस्ता सबैले हेर्छन्, व्यवसाय पनि चल्छ भन्ने एउटा मेसेज पनि हो ।’

हलमा गएर फिल्म हेर्दा धेरै फाइदा हुने वैँकर्स पुरुषोत्तम घिमिरेको भनाइ छ । ‘घरभित्र मात्र कति बसिरहने, मोबाइलमा मात्र हेरिरहने’, उनी भन्छन्, ‘हलमा गएर फिल्म हेर्दा साथीभाइ पनि भेटघाट हुने फिल्मको मनोरञ्जन त छँदैछ ।नेपाली मौलिकता बोकेको फिल्म भयो भने फिल्म उद्योगलाई सानो भनेपनि हौसला पनि हुन्छ ।’

नयाँ पुस्ताको मागअनुसार हलहरुले केही सुधार पनि गर्दै जानुपर्ने उनको सुझाव छ । ‘हामीमात्र हुदैनौँ । नयाँ पुस्ताका भाइबहिनीहरु पनि आएका हुन्छन् । उनीहरुले क्यूएफएक्सजस्ता नयाँ प्रविधि, नयाँ सेवा सुविधा पनि खोज्छन् । बढि पैसा तिरेर नयाँ सेवा, सुविधा खोज्नेलाई परिवर्तित समयमको माग अनुसारको सेवा सुविधा दिन पनि सक्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्