
३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना बन्ने
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाको काम सुरु नभए पनि गोरखामा ३४१ मेगावाटको बूढीगण्डकी आयोजना बन्ने भएको छ । सहास उर्जा नामक प्राइभेट कम्पनीले धार्चे र चुमनुब्री गाउँपालिकाको साँध सल्लेरी–यारु खण्डमा जलविद्युत आयोजना बनाउन लागेका हुन्
सो आयोजनाका लागि लगानी गर्न १५ भन्दा धेरै वैंकहरुले तत्परता देखाएका छन् । १५ वैंकका ४५ जनाको टिमले मंगलबार आयोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरेका छन् । सहास उर्जाका अध्यक्ष हिम पाठकसहित आएको वैंकर्सको टोलीले आयोजना स्थलको निरीक्षण भ्रमण गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।
‘सिर्दिबास सल्लेरीमा बाँध निर्माण गरी तातोपानी आसपासमा पावरहाउस निर्माण गर्ने तयारी छ’, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘कम्पनीले आयोजना निर्माणका लागि लगानी गर्न अनुरोध गरेका वैंकका वैंकर्सहरु आज आएर अनुगमन गरेर फर्केका छन् ।’ अब छिट्टै कर्जा स्वीकृत भई निर्माणको काम सुरु हुने उनले विश्वास व्यक्त गरे ।
सो आयोजना पिकिङ रन अफ द िरिभर प्रकृतिको आयोजना हो । यसको मुख्य संरचना बूढीगण्डकी नदीको दायाँ किनारमा रहेन गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । आयोजनाको दैनिक ५ घण्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ । यसको डिजाइन बहाज १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहने अध्ययनले देखाएको छ ।
बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानीलाई फर्काउन आयोजनाको मुख्य संरचना सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुदै विद्युत गृहमा पु¥याउने गरी डिजाइन तयार भएको छ । भूमिगत विद्युत गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोक टर्बाइनमार्फत विद्युत उत्पादन हुनेछ ।
आयोजनको सबै काम योजनावद्ध रुपमा अघि बढे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । उत्पादित उर्जालाई करिब ४५ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरी नुवाँकोटको रातामाटे सवस्टेशनमा जोडिनेछ ।
यसअघि सो आयोजना टाइम्स इनर्जी प्रालिले निर्माणको लाइसेन्स प्राप्त गरी काम अघि बढाइरहेको थियो । सो प्रालिलाई सहास उर्जाले प्राप्ति गरी निर्माणका लागि आन्तरिक गृहकार्यको गरिरहेको छ ।




