पुस ८ गतेदेखि १८ गतेसम्म ‘चौथो गोरखकाली पर्यटन मेला’हुने
गोरखा सदरमुकाममा चौथो गोरखकाली पर्यटन मेलाहुने भएको छ । हरमटारी क्लवको आयोजनामा यही पुस ८ गतेदेखि १८ गतेसम्म मेला हुन लागेको हो । ‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने मुल नाराका साथ मेला आयोजना गर्ने आयोजक क्लवले जनाएको छ ।
सकारात्मक सन्देश सहित मनोरञ्जन प्रदान गर्ने उद्देश्य सहित मेला आयोजना गरिएको क्लवका अध्यक्ष जीवन गुरुङले बताए । ‘मेला आयोजना गर्नुको प्रमुख उद्देश्य दर्शकहरुलाई मनोरञ्जन दिनु हो’, उनले भने, ‘मेला लगतै क्लवले नवौँ गोरखकाली कप र दोस्रो मिस्टर बि अन्तर विद्यालय फुटबल प्रतियोगिता समेत गर्न लागेको छ, त्यसका लागि पनि आर्थिक संकलन हुन्छ भनेर मेला आयोजना गरेका हौँ ।’
मेलामा जिल्लाका ११ वटै स्थानीय तहसँग समन्वयमा गरी सबै जातजातिको भेषभुषा, संस्कृति तथा लोपोन्मुख जातिको कला संस्कृति प्रदर्शन गर्ने तयारीमा रहेको उनले बताए । स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टा तथा कलाकारहरुको प्रस्तुतिपनि मेलामा रहने क्लवले जनाएको छ ।
हरमटारी रङ्गशालामा हुने मेलामा करिब ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । मेलामा टिकटको व्यवस्था हुनेछ । मेलामा दौड लगायत विभिन्न खेलकुद प्रतियोगिता, नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता, खाना महोत्सव, कन्सर्ट कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट साँगीतिक कार्यक्रम, विभिन्न जातीय भेषभुषा प्रदर्शन लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ ।
चौथो गोरखकाली पर्यटन मेलामा ५६ लाख ५० हजार आम्दानी हुने र ५२ लाख ४५ हजार खर्च हुने अनुमान गरिएको छ । जम्मा चार लाख बचत हुने अनुमान गरिएको र सो रकमबाट सातौँ गोरखकाली रनिङ कप आयोजना गर्ने क्लवका अध्यक्ष गुरुङले बताए । बाँकी बचत भएको रकम सामाजिक क्षेत्र र खेलकुद विकासको क्षेत्रमा खर्च गरिने उनको भनाई छ ।