| शुक्रबार, माघ ४, २०८१

प्राविधिक नहुँदा करोडौँको योजनाको कार्यान्वयन प्रक्रिया अघि बढेन

पर्यटन तथा उद्योग कार्यालयको पर्यटन पूर्वाधार बिकासतर्फका कुनै पनि योजनाहरुको कार्यान्वयन प्रक्रिया हालसम्म अघि बढेको छैन । उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्नुपर्ने उक्त योजनाहरुको हालसम्म सम्झौता समेत हुन नसकेको कार्यालय स्वयंले जनाएको छ ।

प्राविधिक नभएका कारण काम अघि बढाउन नसकिएको कार्यालय प्रमुख अमर नेपालीले बताए । ‘प्रत्येक बर्ष मन्त्रालय आफैले निर्णय गरेर प्राविधिक पठाउँथ्यो,’ उनले भने, ‘तर यो बर्ष अहिलेसम्म प्राविधिक पठाएको छैन ।’ प्राविधिक नभएका कारण योजनाहरु सम्झौता समेत हुन नसकेको उनले जानकारी दिए ।

पर्यटन पूर्वाधारतर्फ चालु आर्थिकवर्ष अधिकांश योजनाहरु पदमार्ग निर्माणका रहेका छन् । उक्त योजनाहरुमा ५ देखि २० लाखसम्म रकम विनियोजन भएका छन् । गोरखा नगरपालिकामा विपीपार्क निर्माणका लागि ५ लाख, शहिद लखन र गोनपा जोड्ने मनकामना गोरखकाली पदमार्ग निर्माणका लागि १० लाख र गोनपा १४ बुढीकोटी पदमार्ग निर्माणका लागि १० लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।

पालुङटार नगरपालिका वडा नम्वर १ को अन्नपूर्ण मन्दिरमा पार्क, वडा नम्वर २ चापाभन्ज्याङ चण्डीनाथ सिढी पदमार्ग, वडा नम्वर १० लाजिकोट कोटगढी लकाङकालिका पदमार्ग, वडा नम्वर ८ शहिदपार्क पूर्वाधार, वडा नम्वर ९ सिस्नेरी सिद्धबाबा पदमार्ग र वडा नम्वर १ भुलभुलेस्थित तातोपानी पूर्वाधार निर्माणका लागि १० लाखका दरले रकम विनियोजन भएको थियो ।

त्यस्तै वडा नम्वर ३ लिगलिगकोट राइनासकोट पदमार्ग निर्माणका लागि २० लाख रकम विनियोजन भएको कार्यालय प्रमुख नेपालीले बताए । सिरानचोक गाउँपालिका वडा नम्वर ७ मा ऐतिहासिक धामनिधि धर्मशाला पुनर्निर्माणका लागि ५ लाख, वडा नम्वर ६ अमरसिंह थापा स्मारक पार्क निर्माणका लागि १० लाख, वडा नम्वर ४ चोरकाटेदेखि दरौदी जाने पदमार्ग निर्माणका लागि १० लाख र वडा नम्वर ३ बयापानी बोगटीगाउँ मुकुन्दडाँडा जाने पदमार्ग निर्माणका लागि ५ लाख रकम विनियोजन भएको छ ।

त्यस्तै, वडा नम्वर ८ ब्याखर्क दलित वस्तीदेखि जनज्योती मावि जाने पदमार्ग निर्माणका लागि ५ लाख, सिरानचोक र गोरखा नगरपालिका जोड्ने श्रीनाथ मण्डली मन्दिर सिरानचोककोट धार्मिक ऐतिहासिक पर्यटन पूर्वाधार निर्माणका लागि ५ लाख र वडा नम्वर ८ कालिका मन्दिर पूर्वाधार निर्माणका लागि १० लाख रकम छुट्याइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार भीमसेन थापा गाउँपालिका वडा नम्वर २ तान्द्राङकोट परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि १० लाख, वडा नम्वर १ विपि स्मृति पार्कका लागि १० लाख, वडा नम्वर ३ थुम्को पार्कका लागि ५ लाख र वडा नम्वर ४ देउराने साउने आल वकालेखेत पदमार्ग निर्माणका लागि १० लाख रकम विनियोजन भएको छ ।

शहिद लखनमा दुई वटा योजनामा बजेट विनियोजन भएको छ । वडा नम्वर ७ मकैपुर गुम्वा बिकास तथा संरक्षण र सोही वडाको प्रतिकात्मक मनकामना मन्दिर पूर्वाधार निर्माणका लागि १०/१० लाख रकम विनियोजन भएको कार्यालय प्रमुख नेपालीले बताए । ‘गण्डकी गाउँपालिकामा पनि दुइ वटा योजना छन्,’ उनले भने, ‘वडा नम्वर ६ को भैरवीटार पार्क र वडा नम्वर २ को महादेवडाँडा गवटार पातिस्वाँरा पदमार्ग निर्माणका लागि दश लाखका दरले रकम छुट्याइएको छ ।’

बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ४ घुन्चोक पोखरी पर्यटकीय पूर्वाधार निर्माणमा २० लाख रकम विनियोजन भएको छ । वडा नम्वर ४ घुन्चोक पोखरी पर्यटकीय पूर्वाधार निर्माणका लागि २० लाख, वडा नम्वर १ खुम्चे गुम्वामा पूर्वाधार निर्माणका लागि २० लाख र वडा नम्वर ८ पहरे बुद्धपार्क निर्माणका लागि ५ लाख छुट्याइएको छ ।

बारपाक सुलिकोट र अजिरकोट जोड्ने घ्याच्चोक धन्सिरा चिसाङ्ग बारपक पदमार्ग निर्माणका लागि १० लाख र वडा नम्वर ३ सितागुफा हुदैँ सदिडाँडा बजीनीताल अकलामन्दिर पदमार्ग निर्माणका लागि ५ लाख रकम विनियोजन भएको बताइएको छ ।
अजिरकोट गाउँपालिका १ को घ्याच्चोक चामेछहरा पदमार्ग र दुधपोखरी पदमार्ग निर्माणका लागि १५/१५ लाख रकम विनियोजन भएको छ ।

आरुघाट गाउँपालिका वडा नम्वर २ मान्वु काशिगाउँ धुन्चेत हुदैँ गणेश हिमाल बेसक्याम्प जाने पदमार्गका लागि दश लाख बजेट परेको छ । धार्चे गाउँपालिका ६ काशिगाउँदेखि गोन्दोडाँडा जाने पदमार्ग एवं वडा नम्वर ३ र ४ जोड्ने लाप्राक रुप्चेतालदेखि उहियाको दुधपोखरी जाने पदमार्ग निर्माणका लागि १० लाखका दरले रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।
त्यस्तै, चुमनुव्रीमा दश वटा पदमार्ग निर्माणका लागि प्रति योजना ५ देखि २० लाखसम्म बजेट विनियोजन गरिएको छ ।

धर्मशालादेखि लार्केभन्ज्याङ पदमार्ग, छाक गपदेखि सेराङ गुम्वा पदमार्ग, छेकम्पार पारो पर्यटकीय पदमार्ग, सामागाउँदेखि पुङ्गेन गुम्वा पदमार्ग र स्याला ङाङमाङ पुंगेन गुम्वा पदमार्ग निर्माणमा २० लाखका दरले रकम विनियोजन भएको कार्यालयले जनाएको छ । चुम्चेतदेखि प्रागाउँ पदमार्ग, छाकदेखि गप जाने पदमार्ग, न्याकदेखि एक सय आठ धारा जाने पदमार्ग र पुलदेखि छाकगाउँ पदमार्ग निर्माणका लागि पनि २० लाखका दरले रकम छुट्याइएको कार्यालय प्रमुख नेपालीले बताए ।

पैयोपुलदेखि पातीगाउँ हुदैँ फिलिम पर्यटन पदमार्ग निर्माणका भने ५ लाख रकम विनियोजन भएको उनले जानकारी दिए ।
चालु आव नै कार्यान्वयन हुनुपर्ने यी योजनाहरुको हालसम्म सम्झौता समेत हुन सकेको छैन । मन्त्रालयले प्राविधिक खटाएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख नेपालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्