| शुक्रबार, माघ ४, २०८१

पालुङटारमा शैक्षिक मेला तथा प्रतिभा पहिचान कार्यक्रम सुरु

पालुङटार नगरपालिका–४ स्थित अमरज्योती जनता माविमा शैक्षिक मेला एवं बिद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो । नगरपालिका भित्र पहिलो पटक उक्त कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर नेपालीले बताए ।

कार्यक्रमको पहिलो दिन मावि स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको उनले जानकारी दिए । यस्तै, बिभिन्न तहका शिक्षकद्धारा निर्मित शैक्षिक सामग्रीहरुको पनि प्रदर्शनी भएको थियो । कार्यक्रममा पालिका भित्रका ५१ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रमको दोस्रो दिन शुक्रबार १–३ कक्षाको पढाई प्रतियोगिता, ४–५ कक्षाको श्रुतिलेखन र गणित दौड प्रतियोगिता, ६–८ कक्षाको चित्रकला प्रतियोगिता हुने बताइएको छ ।

प्रतियागिताका बिजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम समेत रहेको नेपालीले बताए । बाल बिकास र आवि तहको शैक्षिक सामग्री मुल्याङकन प्रतियोगितामा पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार, तेस्रोले ३ हजार र सान्त्वना हुनेले दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । मावि तहको शैक्षिक सामग्री मुल्याङकन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार पाउने बताइएको छ ।

यता नृत्य प्रतियोगितामा पहिलो हुनेले ८ हजार, दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र सान्त्वनाले ३ हजार नगद पुरस्कार पाउने छन् । पढाई, श्रुतिलेखन, गणित दौड र चित्रकला प्रतियोगितामा पहिलो हुनेले ४ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार र सान्त्वनाले एक हजार नगद पुरस्कार प्राप्त गर्ने शिक्षा शाखा प्रमुख नेपालीले बताए । आधारभूत र माध्यमिक तहमा उत्कृष्ट हुनेले दश हजारका दरले नगद पुरस्कार पाउने छन् ।

कार्यक्रमको बिहीवार नगर प्रमुख विवश चिन्तनले उद्घाटन गरेका हुन् । नगर शिक्षा शाखा प्रमुख नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा शक्षा बिकास तथा समन्वय इकाई गोरखाका प्रमुख रमेश मैनाली, शिक्षा अधिकृत माधव पोखरेल, अमरज्योती जनता माविका प्रधानाध्यापक लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्