आँबुखैरेनी गाउँपालिकाको छलाङ : आर्थिक बर्षको एकतिहाई अवधि नबित्दै एक तिहाई योजना सम्झौता
कतिपय पालिकाहरुको नयाँ आर्थिक बर्ष लागेदेखि एकपटक पनि कार्यपालिकाका बैठक बस्न हुन सकेको छैन, छिमेकी आँबुखैरेनी गाउँपालिकाले भने धमाधम योजना सम्झौता गर्दै कार्यक्रम सञ्चालन गरिरहेको छ । कतिपय योजना सम्पन्न गरेर अन्तिम भुक्तानी समेत दिइसकेको छ ।
अघिल्लो बर्ष सतप्रतिशत कार्यप्रगति गर्न सफल आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिकबर्षको एक तिहाइ अवधि नबित्दै एक तिहाई योजना सम्झौता गरिसकेको जनाएको छ । चालु बर्ष बिनियोजित १५४ योजना तथा कार्यक्रममध्य हालसम्म ५१ वटा योजनाको उपभोक्ता समिति दर्ता भएका र ३५ वटा योजना सम्झौता गरिसकेको योजना तथा अनुगमन शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।
‘वडा नं. १ को एउटा र वडा नं. ५ को एउटा योजना त सम्पन्न भएर अन्तिम भुक्तानी पनि लगिसके’, पौडेलले भने, ‘अरु धेरै योजना तथा कार्यक्रमहरु पनि कार्यान्वयन चरणमा गइसकेका छन् । कुनैले पेश्की लगिसकेका छन् ।’ यस बर्ष पनि बजेट फ्रिज हुन नदिने लक्ष्यका साथ काम भइरहेको उनले बताए । पालिकाभित्रको सबैभन्दा ठूलो आँबुखैरेनीबजार क्षेत्र रहेको वडा नं. ३ मा विनियोजित १८ वटा योजनामध्य १२ वटा सम्झौता भइसकेको वडाअध्यक्ष दिनेश केशी बताउँछन् ।
‘बाँकी ६ वटा योजना पनि भोलि र पर्सिभित्रमा सम्झौता हुँदैछ’, उनले भने, ‘तीनवटा योजना त कार्यान्वयन चरणमा गइसक्यो ।’ अघिल्लो आर्थिक बर्ष पनि यस वडाको कुनैपनि योजना फ्रिज नभएको उनले बताए । आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ६२ करोडको योजना तथा कार्यक्रम तर्जुमा गरेको छ । क्रमागत योजनाहरुको काम पनि धमाधम सञ्चालन भइरहेका छन् । पहिलो किस्ता भुक्तानी लगिसकेका उनले बताए ।
अघिल्लो बर्ष सतप्रतिशत नै प्रगति गरेको र यो बर्ष पनि सतप्रतिशत नै प्रगति गर्ने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ । ‘गतबर्ष पनि हामीले सतप्रतिशत नै प्रगति गरेका हौँ । अपेक्षा गरेजति राजस्व संकलन नभएकाले भुक्तानी दिन नसकेर केही बाँकी थियो । त्यो पनि चालुबर्ष भुक्तानी दिइसक्यौँ’, उनले भने, ‘यसबर्ष पनि द्रुत गतिमा योजना सम्झौता भइरहेका छन् ।
कतिपय योजनाको काम धमाधम सुरु भएका छन् । कतिपय योजना सम्पन्न भएर भुक्तानी नै लगिसकेका छन् । यस आर्थिक बर्ष पनि कुनै पनि शीर्षकको योजना र कार्यक्रमको बजेट फ्रिज हुन दिँदैनौँ । सतप्रतिशत प्रगति गर्ने हाम्रो लक्ष्य छ ।’ आँबुखैरेनी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।