| शुक्रबार, माघ ४, २०८१

खच्चडलाई हानेको ढुंगा लागेर स्वास्थ्यकर्मी घाइते, हेलिकोप्टरद्वारा उद्धार

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा खच्चडलाई हानेको ढुङ्गा लागेर बाटोमा हिडिरहेकी स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छिन् । चुमनुब्री गाउँपालिका–३ फिलिमकी २७ वर्षीय सुजा गुरुङ खच्चडलाई हानेको ढुङ्गाले लाग्दा गम्भीर घाइते भएकी हुन् ।


चुम्चेतको लोक्पा सामुदायिक स्वास्थ्य इकाईका कार्यरत गुरुङ घरबाट कार्यस्थल जाने क्रममा आईतबार बिहान १० बजेतिर खच्चड गोठालोलेले हानेको ढुङ्गाले लागेर घाइते भएको चुमनुब्री–६ का वडाअध्यक्ष सरोज लामाले बताए । ‘हिजो शनिबार बिदामा जानु भएको रहेछ । आज बिहान अफिस आउने क्रममा गोठालोहरुले खच्चडलाई धपाउन प्रयोग गरेको ढुङ्गाले छातीमा लागेर घाइते हुनुभएको छ’, उनले भने, ‘उहाँको अवस्था नाजुक भएकाले हेलीद्वारा उद्धार गरिएको छ ।’ दुर्गमको ठाउँमा यसअघि पनि यस्ता घटनाहरु घटिरहेको उनले जानकारी दिए ।


‘खच्चड गोठालाहरुको लापरवाहीका कारण पटक पटक यस्तो अवस्था सिर्जना भएका छन् । यसअघि पनि यस्तो घटना घटिसक्यो’, उनले भने, ‘पोहोर साल मात्र पनि एउटा विदेशी पर्यटकलाई ढुङ्गाले लागेको थियो तर यस्तो गम्भीरचाहि भएका थिएनन् ।’ खच्चड व्यवसायी तथा मजदुर सुरक्षाका बारेमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्